जनता टाइम्स

२३ कार्तिक २०७९, बुधबार १९:३९

झापामा कांग्रेसलाई ठूलो धक्का, यी प्रभावशाली नेतासहित एकसय कार्यकर्ता एमाले प्रवेश


झापा, कात्तिक २३ । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि धनेन्द्रराज योङ्यासहित एकसय जना नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेता योङ्यासहित नेपाली काँग्रेसका क्षेत्रीय सदस्य मोहनकुमार कार्की, पूर्व सदस्य बलभद्र कोइराला, लीला चुँडाल कार्की, युवती ठाकुर, प्रदीप ढकाल, कबिर प्रसाईं लगायत एकसय जना स्थानीय नेताकार्यकर्ता आज एमालेमा प्रवेश गर्नुभयो ।

झापा निर्वाचन क्षेत्र नं. ५ को दमकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई अध्यक्ष केपी शर्मा ओलीले खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।

सोही कार्यक्रमा हाडजोर्नी विशेषज्ञ डा. अरुण कुमार साह पनि एमालेमा प्रवेश गर्नुभयो । कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले नवप्रवेशी साथीहरु परिवारका सदस्य भइसकेको र उहाँहरु कसैलाई पनि भेदभाव, पक्षपात नभई समान व्यवहार, जिम्मेवारी अवसर दिइने वताउनु भयो ।

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि नेकपा बनेको र भुलवश माओवादी र एकीकृत समाजवादीमा लाग्नुभएका त्यसका नेताकार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले देश बनाउने अभियानमा लाग्ने हो भने एमालेमा आउन आग्रह गर्दै अन्य दलहरु नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमा बसिरहनुपर्ने आवश्यक छैन भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेलाई सिध्याउने खेलका रुपमा नेकपा एस बनाईएको उल्लेख गर्दै एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताउनुभयो ।कार्यक्रममा नवप्रवेशी नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि योङ्याले देशको समृद्धि एमालेबाट मात्र सम्भव रहेको बताउनुभयो ।