जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १२:५३

मुस्ताङमा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : एमाले–कांग्रेसलाई कडा टक्कर दिने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश


मुस्ताङ, कात्तिक २६ । हिमाली जिल्ला मुस्ताङमा नेकपा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस नेतृत्वको गठबन्धन र एमाले उम्मेदवारलाई कडा चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालका उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन ।

मुस्ताङमा यसपटक २०७४ सालको चुनाव जित्नुभएका एमालेका प्रेमप्रसाद तुलाचन र पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । मुस्ताङमा प्रतिनिधिसभामा एमालेका तुलाचन, कांग्रेसका थकाली, राष्ट्रिय स्वतन्त्रका सुदेश गुरुङ र राप्रपा नेपालका प्रविणकुमार शेरचन उम्मेदवार हुनुहुन्छ ।

एमाले उम्मेदवार तुलाचनले २०७४ सालको निर्वाचनमा पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकालीलाई ४८५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । त्यससमय एमालेका तुलाचनले ३३१७ मत र कांग्रेसका थकालीले २८३२ मत पाउनु भएको थियो । यसपटक पूर्वमन्त्री थकालीले छोरालाई अगाडि सार्नुभएको छ ।

एमालेका ६२ वर्षीय तुलाचन र कांग्रेसका २९ वर्षीय थकालीको घर एउटै वडामा पर्छ । उहाँहरुको घर मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा रहेको छ । दुवै उम्मेदवारले ज्ञानोदय मावि लेतेबाट मतदान गर्नेछन । गुरुङको घर मुस्ताङको घरपझोङ–५ ढुम्बामा पर्छ । उहाँ २५ वर्ष मात्र हुनुभएको छ ।

मुस्ताङमा तेस्रो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । एमाले र कांग्रेसका उम्मेदवाबीच प्रतिस्पर्धा देखिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले आफ्नो प्रभाव बढाउँदै लग्नुभएको छ ।  सुदेशले छोटो समयमै एमाले र कांग्रेसका उम्मेदवारलाई टक्कर दिने अवस्थामा आइपुग्नु भएको हो ।

मुस्ताङमा प्रदेश क मा एमालेका इन्द्र धारा डादु बिष्ट, कांग्रेसका नम्डु गुरुङ तथा प्रदेशसभा ख मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका बिकल शेरचन र राप्रपा नेपालका कर्म डोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।

मुस्ताङमा २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा एमालेले जितेको थियो । जसअन्तर्गत प्रदेश ’क’मा एमालेका इन्द्रधारा विष्टले ११६७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धीले ६५७ मत ल्याउनु भएको थियो । त्यस्तै प्रदेश ’ख’मा एमालेका महेन्द्रबहादुर थकालीले २५८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । मुस्ताङमा राजनीतिक हिसाबले सैद्धान्तिक मत करिव ७० प्रतिशत रहने भए पनि बाँकी ३० प्रतिशत मत जाति, भुगोल, व्यक्तिगत प्रभाव र आर्थिक मत खरिदले प्रभाव पार्ने गरेको छ ।

यसपटक एमालेले २०७४ सालको रेकर्ड दोहोर्याउने दाउमा छ भने कांग्रेसले एमालेको २०७४ सालको रेकर्डमा ब्रेक डाउन गर्ने योजनामा छ । त्यस्तै रास्वपाको उम्मेदवारले नेपालको राजनीतिमा एमाले र कांग्रेस दुवै फेलियर भइसकेकाले आफूहरु जित्ने दावी गरेको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन जस्तो मुस्ताङका राजनीतिक दलले कुनै तामझाम देखाएका छैनन्। मुस्ताङमा राजनीतिक दलहरू ४–५ जनाको समूह भएर मत माग्न घरदैलो अभियानमा जुटेका छन ।

मुस्ताङका ५ वटै स्थानीय तहमा पार्टीका उम्मेदवार र कार्यकता विभाजित भई जनताको घरदैलो अभियानमा जुटेका छन । मुस्ताङमा निर्वाचन लक्षित राजनीतिक पार्टीको कुनै सभा, सम्मेलन र कोणसभा आयोजना भएको छैन । चिसो सहँदै जनताको घरदैलोमा मत माग्न पुगेका कांग्रेस–एमाले उम्मेदवारले उत्तरी कोरला नाकालाई मुख्य चुनावी एजेन्डा बनाएका छन । दुवै दल र उम्मेदवारले कोरला नाका खुलाउनेदेखि जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता जनाएका छन ।

प्रतिनिधिसभामा उम्मेदवार एमालेका तुलाचनले उत्तर–दक्षिण व्पायारिक केन्द्र विस्तार गरी गण्डकी प्रदेश र नेपालकै आर्थिक समृद्धिमा नयाँ आयाम थप्न कोरला नाका खुल्न आवश्यक रहेको बताउनु भयो । तुलाचनले एमाले सरकारकै पालामा उत्तरतर्फका नाकाहरू खोल्नुपर्छ भन्ने उद्देश्यले सडकमार्ग विस्तार भएको र एमालेकै पालामा बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको भन्दै थप कामका लागि आफूलाई मत मागिरहनु भएको छ ।

उहाँले अबको मिसन कोरलानाका खोल्न र कोरलामा भौतिक संरचना निमार्ण गर्दै सडक स्तरोन्नतिलाई तिव्रता दिनेतर्फ हुने बताउनु भयो । कांग्रेस उम्मेदवार थकालीले कोरलानाका खोल्न कुटनीतिक पहल थाल्ने बताउनु भएको छ ।

मुस्ताङको उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अहिले ७० प्रतिशत र जोमसोम–कोरला सडक ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । झन्डै ७ अर्ब बढी लागत रहेको गौरवको सडक आयोजना २०७४/०७५ बाट सुरु भएको हो ।