जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १४:४४

ओलीको आरोप : दक्षिणपन्थीका शरणमा प्रचण्ड


सुर्खेत, २७ कात्तिक । एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेको आरोप लगाउनुभएको छ । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उहाँको भनाइ छ । उहाँले संसद् विघटन सही नै भएको दाबी पनि गर्नुभएको छ । आज कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाउनुभयो ।

‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे,’ ओलीले भन्नुभयो, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’ केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेपछि ओलीले त्यसको जवाफ दिँदै थप्नुभयो, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आरोपमसमेत लगाउनुभयो । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भन्नुभयो, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’