जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार १५:१३

गोरखामा पनि प्रचण्डले भोटले जित्ने अवस्था रहेनछ, मान्छे कुटन थाले : अध्यक्ष ओली


चितवन, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा घार बनाएर गोरखा वास बस्न पुग्नुभएका प्रचण्डले त्यँहा पनि भोटले चुनाव जित्ने अवस्था नरहेको बताउनुभएको छ । जनताको मन जितेर चुनाव जित्ने अवस्था भए मान्छे मान्छे कुट्दै हिड्नु पर्थ्यो र ? भनि प्रश्न गर्नुभयो । उहाँले एमालेसंग दुश्मनी नगर्न प्रचण्डलाई चेतावनी पनि दिनुभयो ।

उहाँले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभइ जनता ढाँट्न ल्याएको बताउनुभयो । सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरक फरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताउनुभएको हो ।

‘अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनता ढाँट्न ल्याएका हुन् । गठबन्धन पछि पनि रहन्छ रे ! कांग्रेसले एउटा घोषणापत्र जारी गरेको छ, माओवादीको अर्को, माधव नेपालको, अर्को लोसपा । एउटा भन्छ गणतन्त्र अर्को होइन भन्छ । त्यसैमा झगडा हुन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो । उहाँले एमालेले देश बनाउने गन्तव्य अघि सारेको भन्दै एमालेले नै मेलम्चीको पानी ल्याएको दावी गर्नुभयो ।

उहाँले राम लक्ष्मण जन्मेको ठाउँमा आफूले रामजन्म भूमि ल्याउँदा माओवादीका अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठायो, लखेट्ने भो भने । मलाई थाहा थियो एमालेसँग दुश्मनी गर्ने पनि सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुश्मनी गर्ने सिद्धिन्छन्। चुप लागेको भए हुन्थ्यो दुश्मनी गरे ।’

ओलीले त्यसो भन्ने नेता उकालोतिर लागे भन्दै प्रचण्डलाई संकेत गर्नुभयो । ‘एकपल्ट काम लाग्छ त्यो पनि । भाग्या ठाउँ पनि एकपल्ट काम लाग्छ’, ओलीले भने, ‘हालत के रहेछ गोरखामा पनि ? भोट गरेर चुनाव जित्ने अवस्था रहेनछ । मान्छे कुट्न थाले ।’

उहाँले वियरका बोतलले अर्काको टाउकोमा हान्ने हो डेमोक्रेसी ? भन्दै प्रश्न समेत गर्नुभयो । गठबन्धनलाई फुटेको हाडीको चोइटाको संज्ञा दिँदै उहाँले यी देशका लागि अभिशाप बनेको बताउनुभयो । ‘अस्पताल, स्कुल, बाटा बनाउने योजना काट्छन् । बैंकमा पैसा छैन । व्याजदर बढेको बढ्यै छ’, ओलीले भन्नुभयो, ‘आज गतिलो मोबाइल र राम्रो गाडी चढ्छु भन्दा पनि पाइँदैन । नेपालमा यसअघि सायद यस्तो सुनिएको थिएन ।’