जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १६:१२

गठबन्धनका उम्मेदवारलाई जिल्लाको पाँच गाउँको नाम नअकमकिई भन्न घिसिङ्गको चुनौती


रामेछाप, २९ कात्तिक । नेकपा एमाले प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले गठबन्धनका उम्मेदवारलाई जिल्लाका कुनै पाँच गाउँको नाम नअकमकिइ भन्ने चुनौती दिनु भएको छ । गठबन्धनले जिल्लामा अपरिचित उम्मेदवार उठाएकाले जनताको गठबन्धन एमालेसंग भएको जानकारी दिदैं उहाँले सो चुनौती दिनुभएको हो ।

उहाँले देशले देखेको सपना पूरा गर्न केपी ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने बताउनुभयो । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै घिसिङले नेकपा एमालेले विकासको लागि गरेको संकल्प पूरा गर्न प्रदेश र संघमा एमाले सरकार जरुरी रहेको बताउनुभयो ।

रामेछापको तीनै सिटमा एमालेले सानदार विजय हासिल गर्ने उहाँले दावी गर्नुभयो । एमालेको मन जनतासँग मन मिलेको कारण विजयी हुने हकदार पनि एमाले उम्मेदवारकै रहेको उहाँको कथन थियो । ‘नेताहरू बिचको टाउको मिल्दैमा चुनाव जितिँदैन, माल पठाउँदैमा चुनाव जितिँदैन, कार्यकर्तालाई माल पठाउने होइन, दुःखमा परेका जनतालाई मलम पठाउने काम जरुरी छ’, उहाँले भन्नुभयो ।

चुनावको बेलामा मात्र झुल्किने नेतालाई भोट दिने बेलामा सोच्न उहाँले मतदातालाई अनुरोध गर्नुभयो । ‘पार्टीले मात्र चिनेको मान्छेलाई ध्यान नदिनुहोला, पार्टी, भूगोल र माटोले चिनेको मानिसलाई मत दिनुहोला, त्यसले मात्र भूगोल र जनताको लागि काम गर्छ’, घिसिङले भन्नुभयो ।

एमाले प्रतिको जनलहर र उपस्थितिले गठबन्धन दलका मानिसहरूको मनमा ढ्याङ्ग्रो ठोकिसकेको उहाँले बताउनुभयो । त्यसैले अब एमालेले उहाँहरूको घाउमा नुनचुक छरिनरहने घिसिङले बताउनुभयो ।