जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १८:३२

जिल्ला वाहिर भएका मतदातालाई कैलास ढुंगेको आग्रह : बा–आमालाई भरोसा दिन पनि गाउँ फर्कनोस्


रामेछाप, ३० कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न मतदातालाई गाउँ फर्कन आह्वान गर्नुभएको छ ।

नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका ढुङ्गेलले गाउँमा रहेका आमा बुबालाई भरोसा दिन मतदातालाई गाउँ फर्कन उहाँले अनुरोध गर्नुभयो । ‘जीत एमालेको हुन्छ, एमालेको मत जोगाउन र बा–आमालाई भरोसा दिन गाउँ आउनुस्’, उहाँले भन्नुभयो ।

नेकपा एमालेको झोलामा सक्षम रामेछापको खाका भएको ढुङ्गेलले बताउनुभयो । आफूले जिविस सभापति हुँदा बनाएको रामेछापको विकासको नक्सालाई वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री हुँदा केही कार्यान्वयन गरेको भए पनि त्यसलाई पूर्णता दिन आफू पुनः उम्मेदवार बनेर आएको उहाँले प्रष्ट पार्नुभयो ।

सरकार बनाउन आवश्यक पर्ने १ सय ३८ सिटमा उम्मेदवारी पनि दिन नसक्ने दलले सरकार बनाउने कुनै सम्भावना नभएको ढुङ्गेलले बताउनुभयो । बहुमतको सरकार बनाउन सक्ने एक मात्र दल नेकपा एमाले भएको उहाँले प्रष्ट पार्नुभयो ।

माथि गठबन्धन भए पनि तलका नेता कार्यकर्ता अर्को पार्टीमा मत हाल्न तयार नभएको उहाँले बताउनुभयो । यस्तो परिस्थितिमा विवेक पुर्‍याउन उहाँले मतदातालाई अनुरोध गर्नुभयो ।

ढुङ्गेलले भारत र अमेरिकाको इसारामा देश चलाउने सपना नदेख्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । अब देश चलाउने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । एमालेले हरेक नेपालीलाई बाँच्ने आधार दिएको उहाँले प्रष्ट पार्नुभयो । एमाले सबै नेपाली जनताको पार्टी भएको उहाँले बताउनुभयो ।