काभ्रे, १ मंसिर । तत्कालिन माओवादीद्वारा हत्या गरिएका अर्जुन लामाकी पत्नी पूर्णीमाया लामाले आफ्नो पतिको मुख्य हत्यारा लालध्वजनै रहेको बताउनुभएको छ । सत्ता गठबन्धनको तर्फकाट काभ्रे –१ मा प्रतिनिधिसभा उम्मेदवार रहेका सूर्यमान दोङ (लालध्वज) लाई भोट होइन सजाय दिएर आफ्नो आत्मालाई शान्तिदिन पूर्र्णीमायाले काभ्रेवासीसंग अनुरोधसमेत गर्नुभएको छ । पतिको हत्यारा गलाभरी माला लगाएर आफ्नै अगाडि भोट माग्दै हिडेको देख्दा आफ्नो मुटु फुट्लाजस्तो हुने गरेको उहाँले बताउनुभयो ।
अर्जुन लामालाई तत्कालीन नेकपा (माओवादी)ले अपहरण गरी हत्या गरेको १८ वर्ष पुगेको छ । १६ वैशाख २०६२ मा अपहरणमा परेका लामाको पछि हत्या भएको थियो । उहाँकी पत्नी पूर्णिमाया लामा न्यायका लागि निरन्तर लड्दै आउनुभएको छ । तर उनले अझै न्याय पाउन सक्नुभएको छैन । माओवादी ज्यादतीको त्यो कहालीलाग्दो घटनाले पूर्णिमायालाई सधैं पोलिरहेको छ । उहाँलाई घटनाले अझै पनि तर्साइरहेको छ ।
उनै लालध्वजको प्रत्यक्ष संलग्नतामा अर्जुन लामा अपहरणमा पर्नुभएको थियो। उहाँकै निर्देशनमा लामालाई जिउँदै खाल्डोमा पुरेर हत्या गरिएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा लामाको अपहरणपछि माओवादी कार्यकर्ताहरूले यातना दिएर ज्यान लिएको खुलेको थियो । काभ्रे दाप्चाका स्थानीय व्यापारी तथा श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको अपहरणपछि हत्यामा माओवादी नेता अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल र कर्नाखर गौतम संलग्न थिए ।
अर्जुन लामा हत्याकाण्डमा मुछिएका सूर्यमान दोङ ‘लालध्वज’ अहिले ज्यानमाराको अभियोगमा जेलमा हुनुपर्ने थियो । तर विडम्बना नै भन्नुपर्छ सत्ता र शक्तिको भरमा कानुनको धज्जी उडाउँदै उनी जनताको घरदैलोमा छाति फुलाएर मत मागिरहेका छन् । यही देखेर आफ्नो भतभती मुटु पोल्ने पूर्णीमाया बताउनुहुन्छ ।
‘राजनीतिमा अपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई पन्छ्याउने उपयुक्त अवसर भनेको निर्वाचन नै हो । अर्जुन लामा हत्या घण्टाको दुई दशक वित्न लाग्दा समेत न्याय नपाएको परिवारको आँशुलाई सम्झिएर परिवारलाई न्याय दिने र अपराधीलाई सजायँ दिने यो अवसरबाट कोही पनि चुक्नु हुँदैन । राजनीतिमा अपराधीकरणले प्रश्रय पाउनु मुलुक र जनताका लागि न्याय हुन सक्दैन । आगामी दिनमा पूर्णिमायाले जस्तो अन्याय अत्याचार अरुले खेप्नु नपरोस् । जनता आफै सचेत हुुनुपर्ने बेला हो यो ।’ अहिले न्यायप्रेमी काभ्रेलीले यही भनिरहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्