जनता टाइम्स

४ मंसिर २०७९, आईतवार १५:१४

जब विवेकको भोट लिस्टमा नाम नै भेटिएन‍‍ . . .


सप्तरी, ४ मंसिर । राजविराज( ३ का ३४ वर्षीय विवेककुमार भट्टराई जारी प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आउनुभयो ।

उहाँ बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुग्नुभयो । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उहाँको नाम मतदाता नामावली पाउनुभएन ।

नाम नभएको सुन्ने बितिक्कै उहाँ छक्क पर्नुभयो । उहाँको स्थानीय तहको चुनावमा नाम थियो । उहाँले मत पनि खसाउनुभएको थियो । अहिले नाम कसरी छैन ? भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई जानकारी गराउनुभयो ।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उहाँले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भन्नुभयो ।

उहाँले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर्नुभयोे नाम भेट्टाउनुभएन । त्यसपछि उहाँ निराश हुँदै फर्कनुभयो । मत हाल्नैको लागि विराटनगरबाट आउनुभएका उहाँले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

राजविराज– ३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाउनुभयो ।
उहाँले पनि नाम भेट्नुभएन । निर्वाचनको वेब साइडमा खोज्दा पनि उहाँको नाम र क्रम संख्या भेटिएन् । उहाँ मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्कनुभयो ।

१५ सय ४८ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ५ सय ५० जनाले मतदान गरेका छन् ।