जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ११:५६

कास्की-१ बाट एमालेका जिल्ला अध्यक्ष गुरुङ विजयी, कांग्रेस जिल्ला सभापति बराल पराजित


पोखरा, मंसिर ९ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गर्दै एमाले अध्यक्ष गुरुङ बिजयी हुनुभएको हो ।

शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाउनु भयो । २०४३ सालदेखि कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा लागेर राजनीतिमा सक्रिय भएका गुरुङले २०५२ सालमा एमाले पार्टीको सदस्य लिनुभएको थियो ।

उहाँ गाउँ कमिटी, इलाका कमिटी सदस्य, जिल्ला पार्टी उपाध्यक्ष हुँदै अहिले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । गुरुङ एमाले निकट आदिवासी जनजाति जिल्ला समन्वय समितिको उपाध्यक्ष पनि भइसक्नु भएको छ । २०५४ मा साविक पार्चे गाविस अध्यक्ष निर्वाचित गुरुङ २०७४ मा प्रत्यक्षबाट प्रदेश सांसद चुनिनु भएको थियो ।