जनता टाइम्स

२५ मंसिर २०७९, आईतवार १३:४७

माओवादीबाट अजम्बरलाई गम्भीर धोका : एमाले छाडदाका ‘हिरो’लाई प्रचण्डले बनाइदिए ‘जिरो’


काठमाडौं, मंसिर २५ । नेकपा माओवादी केन्द्रले चर्चित नेता अजम्बर काङमाङलाई गम्भीर घोखा दिएको छ । नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा पुग्नुभएका नेता काङमाङलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको पहिलो नम्बरमा राखेर मत मागे पनि निर्वाचन आयोगमा सूची बुझाउने बेला काटिएको हो ।

जनयुद्धकालिन मानिस नभएको कारण माओवादीले क्षमतावान र जनतामाझ प्रिय भए पनि सांसद बनाउने योग्यता नपुगेको भन्दै अन्तिम समयमा हटाएको हो । अजम्बर नेकपा एमालेमा रहँदा ठूलो सम्भवाना बोकेका नेताका रुपमा परिचित हुनुहुन्थ्यो । एमाले छाडेर माओवादीमा पुगेपछि भने उहाँलाई सधै धोकाधडी हुन थालेको छ । स्वयं उहाँले आज समाजिक सञ्जाल फेसबुकमा प्रचण्डसहितको तस्विर सार्वजनिक गर्दै निकै मार्मिक कुरा लेख्नुभएको छ ।

नेकपा एमालेको भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्षसमेत बनिसकेका अजम्बर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीतर्फ लागेपछि उतारचढावपूर्ण राजनीति सुरु भएको हो । राई नेतृत्वको पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा अजम्बर केन्द्रीय सदस्यको हैसियतमा हुनुहुन्थ्यो । पार्टी एकता हुँदा पाएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि उहाँले सचिवको जिम्मेवारी पाउनु भयो ।

संघीय समाजवादी फोरम केन्द्रीय सचिव काङमाङ २०७४ मा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । त्यसपछि एमाले र माओवादी एक हुँदा उहाँ पनि नेकपाको केन्द्रीय सदस्य हुनुभयो । नेकपा विभाजित भएपछि उहाँ पुरानो पार्टी एमालेतिर आउनु भएन । आएको भए उहाँका लागि निकै फलिफाप हुने अहिलेको घटनाक्रमले देखिएको छ ।

संघीय समाजवादीमा रहँदा अघिल्लो अर्थात २०७४ को चुनावमा कांग्रेसको समर्थनमा भोजपुर प्रदेश सभामा ‘क’ बाट लडेर हार्नुभएको थियो । त्यसबेला एमाले नेता राजेन्द्र राईसँग पराजित हुनुभएका अजम्बर यसपटक भने एमाले छाडेका उनै राजेन्द्र राईलाई जिताउन सक्रिय बन्नुभयो । गठबन्धनलाई जिताउन ठूलो मिहिनेत गरेका अजम्बर सूचीको पहिलो नम्बरमा रहेर पनि माओवादीबाट पत्याइएनन्। बरु माओवादीले आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी भोजपुरकै दुर्गा राईलाई समानुपातिक सांसद बनाएर अजम्बरमाथि घात गरेको छ । भोजपुरमा एमाले हराउने मिसन अजमबर सफल बने पनि आफै भने असफल बन्नु परेको छ ।

अजम्बरकै भनाईमा पनि उहाँ आफू आदिवासी जनजाति पुरुषतर्फ माओवादी केन्द्रबाट पहिलो नम्बरमा रहेकाले समानुपातिक सांसद बन्नेमा ढुक्क हुनुहुन्थ्यो । भोजपुरकै अर्का माओवादी नेता सावित्री काफ्ले ’समर’लाई लिएर आज खुमलटार जानुभएका अजम्बरले प्रचण्डसँगको संवाद उधृत गर्दै लेख्नुभएको छ, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।’

प्रचण्डको भेटपछि अजम्बरले लेख्नुभएको भनाई निकै मार्मिम रहेको छ । आफ्नो भनाईको अत्य गर्दै अजम्बरले लेख्नुभएको छ, ‘माओवादीमा तेरो सेन्ट अप परीक्षा पाइला पाइलामा अझै छ अजम्बरे !’ मन न हो, Bhupal Rai कृत ‘नुमाफुङ’ सिनेमाको गीतांश सम्झेँ-‘…पाइलाभन्दा घुम्ति धेरै मेरो कहानीमा…!’

यस्तो छ प्रचण्डलाई अजम्बरको मार्मिक दनक
क. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
हार्दिक

बधाई।
नेकपा (माओवादी केन्द्र) ले हिजो निर्वाचन आयोगमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका समानुपातिकतर्फका सदस्यहरूको नामावली बुझायो । निर्धारित समय सीमाभित्र पठाइएका सदस्यहरू कानुनत: निर्वाचित भएको घोषणा आयोगले गर्छ नै । प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिबासी जनजाति क्लस्टरको एक नम्बरमा म Ajambar Rai Kangmang पनि अटाएकै थिएँ । हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ । पठाइने नामको सूचि बनाउन छलफलरत अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दवाव पर्ला भनेर आजभन्दा अगाडि भेट्न गइनँ । आज चाहिँ जानै पर्छ भन्ने लाग्यो र क. Samar Kafle सँग बिहानै खुमलटार गयौं । शालिन र न्यानो भेटघाट भयो र अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नु होला ।’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनेँ, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ । हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो । बालहठझैँ मैले मेरा आक्र‍‍ोस पोख्दै रुदै कराउदै गर्नुपर्ने, मैले त्यस्तो नगरी परिपक्व राजनीतिज्ञको रुपमा प्रस्तुत भएँ । ओहो ! नयनाग्निजस्ता प्रचण्ड चक्षु त नयानाश्रुमा परिणत भइसकेको देखेँ । अब सम्हालिने पालो मेरो थियो । ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन । ठीकै छ । गोर्खा निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’ बिदाइका कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मुल गेटमा कुन लयमा फर्किसकेछु / फर्किसकेछौं, थाहा भएन । ‘कता जाऔ अब ?’ क. काफ्लेको प्रश्नले झस्किएँ; अजम्बरेका तपश्वीजस्ता जोर आँखा पनि कहाँ ओभानो रहेछ छ त ?
मैले भुइँमा फालेको झर्झराउदो आगोको कोइलाले बैठक कक्षको कार्पेट पो सल्किदै छ कि ? हेर्न अनुरोध छ है, यो तस्बिर खिचिदिनुहुँने प्रिय साथी रमेश मल्लजी ।
परिस्थितिले भन्यो, ‘माओवादीमा तेरो सेन्ट अप परीक्षा पाइला पाइलामा अझै छ अजम्बरे !’
मन न हो, Bhupal Rai कृत ‘नुमाफुङ’ सिनेमाको गीतांश सम्झेँ
‘…पाइलाभन्दा घुम्ति धेरै मेरो कहानीमा…!’