जनता टाइम्स

५ पुष २०७९, मंगलवार ०९:३१

गगन थापालाई शेखर नै तगारो


काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको प्रयाश जारी रहँदा आफ्नै समूहका नेता बाधक बनेका छन ।

थापालाई आफ्नै समुहबाट सभापतिका उम्मेदवार डा. शेखर कोइराला बाधक बनेपछि गगन आफ्नै समुहमबाट सर्वसम्मत उम्मेदवार बन्न मुस्किल परेको हो । दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गर्नुभएका थापालाई अन्तिम घडीमा आफ्नै समूहका नेता शेखर कोइरालाले ‘ब्रेक’ लगाउन खोज्नुभएको छ ।

दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदै छ भने आज मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि एक वर्षअघि सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा देखिएकै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ ।

महाधिवेशनको एक वर्षपछि बुधबार हुन लागेको संसदीय दलको चुनावमा उम्मेदवार बन्न आफ्नै समूहभित्र शेखर र गगनबीच खिचातानी बढिरहेको छ । यसले पुरानै नियति दोहोरिने चिन्ता यो समूहका नेताहरूमा छ । १३ औं महाधिवेशनबाट सभापति चुनिएको सय दिन पनि नपुग्दै देउवाको कार्यशैली र भूमिकाको विरोध गरेर पाँच वर्षसम्म नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाउने नेताहरू नै १४ औं महाधिवेशनमा आफैं बदलिन पुगेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले देउवाको विकल्प खोज्ने सवालमा सबैभन्दा अग्रमोर्चामा आफूलाई उभ्याउनु भएको थियो तर महाधिवेशनमा आफूलाई सहयोग नगरेपछि महाधिवेशनमा भोटसमेत हाल्नुभएन ।

संसदीय दलको अंकगणित देउवाको पक्षमै देखिन्छ । शेखर र गगन मिल्दा संस्थापनइतर पक्षमा ३२ जना सांसद छन् । केहीलाई प्रभावमा पार्न सक्ने पौडेल, सिंह, कोइराला, निधि सबै देउवाकै पक्षमा लाग्ने सम्भावना छ । निधिबाहेकका नेता पहिला संस्थापनइतर खेमाकै हुन ।
रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, प्रदीप पौडेलको साथ हुँदा देउवाको पक्षमा ५७ सांसद हुने देखिन्छ । पाँच वर्षभित्र मन्त्री बन्ने सपना बोकेर आएका सांसदहरू त्यही लोभमा देउवालाई साथ दिने सुरमा छन् ।