जनता टाइम्स

६ पुष २०७९, बुधबार १७:२७

ओली –प्रचण्ड जम्काभेटमा के यस्तो कुरा त भएन ?


काठमाडौं, ६ पुस । नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति कार्यालय शीतल निवासमा जम्का भेट भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लहरै राखिएको थियो। अघिल्लो सिटमा लहरै बस्नुभएका ओली र प्रचण्डबीच जबराको शपथका क्रममा कुराकानीसमेत भएको छ। त्यस्तै एमालेबाट छुट्टिएका खनालसँग पनि ओलीले कुरा गरेका छन्।

तर उनीहरुबीच भएको कुराकानीबारे केही पनि बाहिर आएको छैन। तर, यो कुराकानीले सबैको जिज्ञासा र कौतिहलता बढाएको छ । सत्ता गठबन्धनमा रहेका प्रचण्ड यस पटक सुरुमै प्रधानमन्त्री हुने दाउमा हुनुहुन्छ ।

अर्कातिर एमाले अध्यक्ष ओली आफू राष्ट्रपति पद लिएर अन्य दलका नेताहरुलाई प्रधानमन्त्रीमा समर्थन गर्ने रणनीतिमा लालाग्नुभएको बताइन्छ ।

प्रचण्ड र खनालसँग दुई वर्षदेखि पानी बाराबारकै अवस्था थियो। मंसिर ४ को निर्वाचनमा गोरखाबाट विजयी प्रचण्डलाई ओलीले फोन गरेर बधाई दिनुभएको थियो ।

अहिले पनि सरकार गठनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताबीच कुरा भइरहेको छ। ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सन्देश पठाउनुभएको बताइन्छ ।

तर नयाँ सत्ता समीकरणका लागि ओली र प्रचण्ड छुट्टै वार्तामा बसिसक्नु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० गतेसम्मको समय दिएर दलहरुलाई नयाँ सरकारका लागि बहुमत प्रमाणित गर्न भन्नुभएको छ ।