यसिमा महत/ काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलले एकल सरकार बनाउन पुग्ने गरी स्पष्ट बहुमत नल्याएपछि मिश्रित सरकार बन्ने भएको छ । यसरी मिलिजुली सरकार बनाउन संसदीय अंक गणितमा सबैले मथिंगल घुमाइरहेका छन् । यही दिमाग घुमाईमा आफ्नो रोटी पनि सेकी हाल्ने दाउमा केही नेता लागेका छन् ।
यस्तै दिमाग घुमाउने एक थरी मान्छे कांग्रेस र एमालेको सरकार बनाउनुपर्छ भनिरहेका छन् । यसरी भन्नेहरूको आ–आफ्नै मनसाय रहेको प्रष्ट हुन्छ । पहिलो पटक सांसद् भएकाहरू बल्ल-बल्ल निर्वाचन जितेर आउँदा आफ्नो पार्टीको सरकार नबन्ने देखेर आत्तिएका छन् । अर्को पटक के हो–के हो, न टिकटै नपाइने हो की वा टिकट पाए पनि नजितिने हो की ? चिन्ता ।
पार्टीले सरकार बनाए मन्त्रीको लटरी लाग्न पनि सक्थ्यो भन्ने लागेको छ । यस्तो कांग्रेस –एमालेको सरकार बन्नु पर्छ भन्ने ती एकथरीमा एमालेका बढी छन् । जबकी काँग्रेसमा त्यसरी सुनिने गरी कोही कसैले बोलेका छैनन् । कुनै एक दलले मात्र सरकार बनाउन नसक्ने भएकाले दुई वा दुईभन्दा बढी दल मिल्नुको विकल्प छैन ।
दुई दल मिल्दा मात्र बहुमत पुग्ने भनेको काँग्रेस–एमाले मिल्दा हो । अरु जो जता मिले पनि ४ भन्दा बढी दल मिल्नुपर्छ । सोझै हेर्दा, सोझो र सुविधाजनक बाटो पनि काँग्रेस एमालेकै सरकार हो । अन्य अवस्थामा जति धेरै दलहरू मिल्यो त्यति धेरै विकृती स्वभाविक हुन्छ । काँग्रेस –एमाले सरकार बनाउँदा नै देशले स्थायी सरकार पाउँछ । दुई पुराना र जिम्मेवार राजनीति दलको सरकार धेरै क्षेत्रमा प्रभावकारी हुन्छ ।
तर, यी दुई दलको मिलिजुली सरकार बन्नु भनेको लोकतन्त्रलाई समाप्त पार्नु हो । एमालेको सिद्धान्त विपरित अर्थात जननेता मदन भण्डारीले अघि सार्नु भएको ‘जनताको बहुदलिय जनवाद ’ को विपरित हुन्छ । बहुदलीय जनवादमा प्रष्ट रूपमा बहुमतको सरकार अल्पमतको विपक्ष भनेको छ । दुई मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदा विपक्ष स्वत: कमजोर हुने नै भयो ।
विपक्ष साह्रै कमजोर हुनु भनेको सरकार स्वेच्छाचारी हुनु पनि हो । बलियो र सृजनात्मक विपक्षले मात्र सरकारलाई राम्रो काम गर्न वाध्य बनाउँछ । एउटा उखान पनि प्रचलित छ, ‘दुई साढें मिले पनि जुधे पनि वालीको सत्यानास ।’ हो नेपालको परिप्रेक्ष्यमा दुई साढें भनेका कांग्रेस र एमाले नै हुन् । त्यसैले यी दुई मिल्न दिनु, वा जुध्न दिनु दुवै देशको अहितमा हुन्छ, लोकतन्त्रको अहितमा हुन्छ ।
अब, आयो काँग्रेस–एमाले बृत वाहिरबाट पनि त कुरा उठेको छ नि भन्ने प्रश्न । यो व्यवस्था, यो संविधान र यो राजनीतिक उपलब्धी मन नपराउने, नसहने पक्ष वा बृतबाट काँग्रेस–एमाले मिलेर सरकार बनाउनु पर्छ भन्नु उनीहरूको राजनीतिक धर्म हो । जनविश्वास आर्जन गरेका एक/अर्काको विकल्पका रूपमा चिनिएका दुई लोकतान्त्रिक खम्बालाई एउटै चिहानमा पुर्ने अर्थात एकैसाथ असफल बनाउन पाउनु व्यवस्था विरोधीका लागि ठूलो जित हो ।
किनभने यी दुई खम्बाले एकसाथ जनविश्वास गुमाउनु भनेको नेपालमा लोकतन्त्र समाप्त हुनु नै हो । अनि यसरी कसैलाई राष्ट्रपति हुन मन लाग्यो र कसैलाई मन्त्री हुन मन लाग्यो भन्दैमा अनेक कुतर्क गरेर काँग्रेस –एमालेको मिलिजुली सरकार बनाउने कुरा गर्छ भने त्यसलाई के भन्ने ? कुनै पनि देशलाई माया गर्ने, लोकतन्त्रलाई आत्मसात गर्ने, संविधानको सुरक्षा गर्ने मानिसले असल नियतले काँग्रेस–एमालेको मिलिजुली सरकार भन्न सक्दैन । एमालेलाई पाँच वर्ष विपक्षमा वस्ने जनादेश हो ।
अब काँग्रेस, माओवादीलगायतको मिलिजुली सरकार अनेकौ विकृति भित्र्याउने र इतिहासमै घृणित सरकार हुनेछ । यसमा अहिले वैकल्पिक धार निर्माण गर्छौ भन्नेहरू सबैभन्दा पहिले रंगिनेछन् । यसबाट एमालेलाई फाइदा उठाउने सुनौलो अबसर दिएको छ समयले । एमालेले संसदमा रचनात्मक र सृजनात्मक विपक्ष भएर सरकारका गलत काम वाहिर ल्याउने काम मात्रैले आगामी पाँच वर्षपछिको निर्वाचनमा एमालेलाई दुईतिहाइ बहुमतबाट रोक्न कसैले सक्ने छैन ।













प्रतिक्रिया दिनुहोस्