काठमाडौं, ९ पुस । नेकपा (एमाले) लाइ सखाप पार्न गठबन्धन बनाएर निर्वाचनमा होमिए पनि जनताले एमालेलाई बचाएपछि अहिले नेपाली कांग्रेस र नेकपा(माओवादी) दुवैलाई एमाले हाई हाई भएको छ । नयाँ सरकार बनाउने दावी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा घर्किनै लाग्दासमेत गठबन्धनमा रहेका दलमा प्रधानमन्त्रीमा कुरा नमिलेपछि अब एमालेसहितको सरकारको सम्भावना बढेको हो ।
अंक गणितीय हिसावमा पहिलो दल बनेको काँग्रेसलाई आफ्नै नेतृत्वमा सरकार बनाउन पार्टीभित्र चर्को दवाव छ । माओवादीभित्र पनि प्रचण्डलाई यो आफ्नो नेतृत्वमा सरकार बनाउने सुनौलो अवसर नगुमाउन दवाव छ । माओवादी र काँग्रेस दुवै पहिले आफ्नै नेतृत्वमा सरकार बनाउने अडानमा हुँदा गठबन्धन भत्कने सम्भावना बढ्दै गएको छ । गठबन्धन भत्कनु भनेको सत्ताको चाबी एमालेको हातमा आउनु हो ।
काँग्रेस माओवादी दुवै अडानमा कायम रहँदा दुवैको वैकल्पिक दृष्टि एमालेतिर सोझिदैं गएको छ । यी दुई पार्टी मिलेनन् भने दुवैले बालकोटतिर लिगलिगे दौड सुरु हुनेछ । जो पहिले पुग्छ उसैलाई प्रधानमन्त्री बनाउन एमाले बालकोटको गेटमा माला लिएर बसेको बताइन्छ । ‘मुलुकलाई निकास दिनु जिम्मेवार दलको कर्तब्य हो । एमाले यो मुलुकको जिम्मेवार दल मात्र नभएर सबैभन्दा लोकप्रिय दल पनि हो । त्यसैले मुलुकलाई निकास दिन एमाले प्रधानमन्त्री पदको अर्घेलो थाप्दैन’ एक एमाले नेताले भने ।
सरकार बनाउने अहिलेसम्मको खेलमा नाटकीय परिवर्तन भएन भने काँग्रेस –माओवादी दुवैले एमालेलाई समर्थनको आग्रह गर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्