काठमाडौं, १० पुस । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।
सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन । माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन तोड्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्