काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका कारण गुरुङले संसद बैठकमा भाग लिन नपाउने हुनुभएको हो ।
मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उहाँले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गर्नुभएको थियो । गुरुङको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै उक्त मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि स्वतः निलम्बनमा रहने कानूनी व्यवस्थाअनुसार उहाँ निलम्बनमा परेको संघीय संसद सचिवालयले जनाएको छ ।
महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गरी अख्तियारले विशेष अदालतमा मुद्दा विचाराधीन भएकोले अख्तियारले निलम्बन गर्न लेखी पठाएअनुसार गुरुङ स्वतः निलम्बन भएको जनाउनु भएको छ ।
कांग्रेस नेता गुरुङले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गर्नुभएको थियो । टेकबहादुरले २ हजार ५७५ मत प्राप्त गर्दा पाल्देनले २ हजार २४७ मत प्राप्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्