काठमाडौं, पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास अघि बढाउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारमा ल्याउनका लागि आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको हो ।
ललितपुरस्थित आफ्नो भाञ्जाको निवासमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग छलफल गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । यसअघि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले मंगलवार अध्यक्ष नेपालसँग छलफल गर्नुभएको थियो । एमाले उपाध्यक्षसमेत रहनुभएका पौडेलसँगको छलफल सकारात्मक बनेपछि प्रधानमन्त्री प्रचण्डले माधवसँग आज छलफल गर्नुभएको हो ।
आफूहरुलाई पत्तै नदिए एक्लै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टी जनाएपछि प्रचण्डले छलफल गर्नुभएको हो । नेकपा एसले सरकारले आफूहरुलाई इग्नोर गरेको भन्दै आएको छ ।
नेकपा माओवादी केन्द्रका एक नेताले यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनेछ । प्रधानमन्त्रीले संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार छलफल अघि बढाउनु भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्