जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १५:२४

प्रदेश-१ मा हिक्मत कार्की मुख्यमन्त्री निश्चित, यी हुन मन्त्रीका दावेदार


विराटनगर, पुस १४ । प्रदेश नम्बर १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डबीच सहमति भएसँगै कार्की मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

नेकपाकालिन समयमा आन्तरिक मामिला मन्त्री रहनुभएका कार्की एमाले संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसक्नु भएको छ । ओली र दाहालबीच सातमध्ये चार प्रदेशका मुख्यमन्त्री एमाले, दुई प्रदेशका मुख्यमन्त्री माओवादी र मधेश प्रदेशका मुख्यमन्त्री जसपा र जनमत पार्टीबीच आधा आधा कार्यकाल हुने गरी सहमति जुटिसकेको छ ।

सहमतिअनुसार एमालेले प्रदेश नम्बर १, गण्डकी, कर्णालीको मुख्यमन्त्री पाउने भएको छ भने बागमति र लुम्बिनीमध्ये एक प्रदेशको मुख्यमन्त्री हुनेछ । एमाले प्रदेश १ मा एमालेका ४० सांसद छन ।

प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सीट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पुर्याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ । नयाँ मन्त्रिमण्डल ११ जनाभन्दा कमको हुने बताइएको छ । हाल यस प्रदेशको क्याबिनेट १३ सदस्यीय छ । एमाले र माओवादीले सरकार गठनबारे गठबन्धनका लागि वार्ता गर्न आ–आफ्नो दलमा कमिटी बनाएका छन ।

अहिलेसम्म कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने छलफलकै चरणमा रहेको छ । एमाले नेता कार्कीको नेतृत्वमा सरकार बन्ने निश्चित भएसँगै मन्त्रीका आकांक्षी बढेका छन । एमालेले प्रत्यक्षतर्फ जितेकालाई प्राथमिकता दिने भनिए पनि समानुपातिकबाट सांसद बनेका पनि दौडधुपमा लागेका छन ।

मन्त्री बन्ने लाइनमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत, लीलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पीके राई, सुनसरीका रेवती भण्डारी, दोस्रोपटक निर्वाचित धनकुटाका निरन राई, इन्द्रमणि पराजुली र संखुवासभाका विदुर लिङ्थेप रहनुभएको छ । यस्तै समानुपातिकबाट सांस्द बनेका एमालेका महिला नेतृहरु पनि दौडधुपमा हुनुहुन्छ ।

माओवादीबाट मोरङका जीवन आचार्य, गणेश उप्रेती (शुशिल), तेह्रथुमका दुर्गा चापागाईँ, संखुवासभाका राजेन्द्र कार्की, मोरङकी गीता तिम्सिना दौडमा हुनुहुन्छ । यस्तै आदिवासी जनजातिबाट समेट्दा उदयपुरका नारायण बुर्जा मगर वा सोलुखुम्बुका गम्बु शेर्पामध्ये एक हुने बताइएको छ । यस्तै जसपाकी एक्ली संसद निर्मला लिम्बू पनि मन्त्री बन्ने सूचीमा हुनुहुन्छ ।