काठमाडौं, पुस १८ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य र प्राप्तिमा रहेको खाडल पुर्नेगरी कार्ययोजना बनाउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व विभाग र भन्सार विभाग मातहतकासबै कार्यालय प्रमुखसहितका कर्मचारीसँग आज बैठक गरी मन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।
बैठकमा अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको भन्दै अव त्यो खाडल पुर्न जरुरी रहेको बताउनु भयो । लक्ष्यअनुसारको राजस्व संकलन गर्न राजस्व प्रशासनमा सबैको साझा प्रतिबद्धताका लागि दुवै निकायका कर्मचारीसँग छलफल गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनु पर्ने धारणा पनि राख्नुभयो । उहाँले हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही अनुसारको कार्ययोजना बनाउन पनि निर्देशन दिनुभयो ।
रावस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने जानकारी पनि अर्थमन्त्रीले दिनुभयो । उहाँले कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नबनाउन निर्देशनसमेत दिनुभएको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण र व्यापार सहजीकरण गर्न समेत अर्थमन्त्रीले निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्