जनता टाइम्स

१९ पुष २०७९, मंगलवार २१:१७

दार्चुलाको थीमा सेनाको बेस क्याम्प बन्ने, सेनाको एमआई–१७ हेलिकप्टरबाट सामान झारियो


काठमाडौ, १९ पुस । दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ । आज मङ्गलवार बिहान काठमाडौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ ।

सेनाको विकास निर्माण कार्यदल–२ ले गएको दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ ।

यसैबीच सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडकको अनुगमन तथा थीमा निर्माण हुने बेस क्याम्पको स्थलगत निरीक्षण गर्न विकास निर्माण निर्देशक भएपछि पहिलो पटक दार्चुला आउनुभएको छ । उहाँ आज बिहान हेलिकप्टरबाट दार्चुला आउनुभएको दार्चुला–तिङ्कर सडक आयोजनाले जनाएको छ । दार्चुला–तिङ्कर सडकको कुल लम्बाइ एक सय ३२ किलोमिटरमध्ये ८७ किलोमिटर क्षेत्रमा सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ ।