जनता टाइम्स

२३ पुष २०७९, शनिबार १५:३९

पर्खालमाथिबाट पसेर हस्तक्षेप गर्न बन्द गर्नुहोस् : अध्यक्ष ओली


काठमाडौं, २३ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाउनुभयो ।

उहाँले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताउनुभयो । उहाँले भननुभयो, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस् ।’

उहाँले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताउनुभयो । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उहाँले आग्रह गर्नुभयो ।

छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उहाँले आग्रह गर्नुभयो ।