जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १४:४०

एमाले केन्द्रीय सदस्य नै लेखराज र नारदमुनि हराउन लागेको प्रमाण भेटियो


धनगढी, पुस २८ नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवं सुदुरपश्चिम प्रदेशसभामा समानुपातिकबाट निर्वाचित सांसद नै पार्टी नेता हराउने अभियानमा लागेको तथ्य फेला परेको छ ।

प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित कैलालीकी सन्तोषकुमारी शर्मा (थापा) ले अन्तर्घात गरेको अडियो फेला परेको हो । थापाले एमालेका सुदुरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट र पोलिटब्यूरो सदस्य नारदमुनि रानालाई हराउन गरेको लबिङको अडियो फेला परेको एमाले नेताहरुले बताएका छन ।

‘नामै किटेर लेखराज कमरेड र नारादमुनी कमरेडलाई हराउनुपर्छ भनेको अडियो फेला परेको छ, त्यो अडियो पार्टी इञ्चार्ज लेखराज कमरेडलाई नै बुझाइएको छ,’ एमाले सुदुरपश्चिम प्रदेश कमिटीका एक नेताले जनताटाइम्स डटकमलाई भने । उनका अनुसार चुनावको एक साता अघि थापाले लेखराज र नारदमुनी हराउनु पर्छ भन्ने अपिल गर्नुभएको हो ।

लेखराजकै क्षेत्रका प्रदेशका उम्मेदवार हरिसिंह साउदलाई पनि हराउने अभियानमा लाग्ने उहाँहरुबीचको संवादमा सुनिन्छ । २५ मिनेट ६ सेकेन्डको कुराकानीअनुसार प्रत्यक्षमा एमालेका कुनै पनि उम्मेदवारलाई नहाल्ने, समानुपातिकमा मात्रै सूर्यमा मत दिने सहमति भएको सुनिन्छ ।

सुदुरपश्चिम प्रदेशसभामा एमालेबाट समानुपातिकतर्फ ७ जना निर्वाचित भएका छन । जसमध्ये पहिलो नम्बरमा निर्वाचित हुनुभएका राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भइसक्नु भएको छ । यस्तै दोस्रो नम्बरमा धर्मराज पाठक, तेस्रोमा थापा निर्वाचित हुनुभएको छ ।

यस्तै जानकी ऐन (बम), निर्मलादेवी साउद, हिरा सार्की र कोइलीदेवी चौधरी समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएकामध्ये थापाले एमालेकै नेता हराउने काममा लागेको अडियो फेला परेको हो ।

चुनावमा उम्मेदवार भएर पनि पार्टीकै नेता हराउन लाग्ने थापाको अडियो फेला परेपछि सुदुरपश्चिम एमाले पंक्तिले तत्काल कार्वाही अघि बढाउन नेतृत्वलाई दवाव दिएको छ । प्रदेश कमिटीका सचिवालय सदस्य मानबहादुर रावल र थापाबीचको संवादमा प्रत्यक्षका सवै एमाले उम्मेदवारलाई हराउनु पर्ने भनिएको छ । जनताटाइम्स डटकमलाई प्राप्त अडियोमा दुवै नेता हराउन भनिएको छ । दुई नेताबीचको सम्वादमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि लाञ्छना लगाइएको छ ।

केही दिनअघि सम्पन्न जनसंगठनहरुको कार्यशालामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र महासचिव शंकर पोखरेलले चुनावमा भोट नहाल्ने र हराउन लाग्नेहरु एमालेका कार्यकर्ता नभई राजनीतिक रुपमा गद्धार भएको घोषणा गरेपछि थापाको अडियो नै बाहिर आएको हो ।

एमाले अध्यक्ष ओलीले चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध लाग्ने र भोट नहाल्नेहरुलाई कुनै छुट नदिने सार्वजनिक घोषणा नै गरिसक्नु भएको छ । लेखराज भट्ट र नारदमुनीराना हराउनु पर्छ भन्ने अडियो फेला परेसँगै सांसद थापाको पद धरापमा परेको छ ।