काठमाडौं, पुस २९ । नेपाल प्रहरीमा अव कार्यदक्षताकै आधारमा बढुवा हुने भएको छ । बिहीबार गृह मन्त्रालयले आकस्मिक रूपमा १७ डिआईजीको सरूवा गरेर कार्यदक्षतालाई पहिलो प्राथमिकतामा राखेको हो ।
गृह मन्त्रालयले एआइजी बढुवाका लागि दौडधुपमा लागेका डिआइजीलाई एक्कासि सरुवा गरेर कार्यदक्षताका आधारमा बढुवा गर्ने नीतिलाई प्रष्ट पारेको हो ।
यसअघि प्रदेश इन्चार्जहरू विगतमा सत्तारुढ दलका उच्च नेताको सिफारिसमा सरुवा हुन्थे । यसपटक राजनीतिक सिफारिसअनुसार कोही पनि सरुवा नभएको स्रोत बताउँछ । गृहमन्त्री रवि लामिछाने, गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच भएको छलफलअनुसार डिआइजी र एसएसपीको सरुवा भएको छ । डिआईजी र एसएसपीकोे सरूवा प्रहरी महानिरीक्षकको सिफारिसमा गृहमन्त्रीले गर्ने प्रावधान छ ।
धेरैजसो आइजिपीकै सिफारिसअनुसार सरुवा भएका छन् । गृहमन्त्री लामिछानेले आफूले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै आउनु भएको छ । डिआइजीको सरुवामा पनि उहाँले आइजिपीकै सिफारिसका आधारमा गर्नुभएको छ ।’ राजनीतिक हस्तक्षेपले सरुवा–बढुवामा राजनीतिक नेतृत्व हावी भएका बेला बिहीबारको सरुवाले प्रहरीमा सकारात्मक सन्देश दिएको छ । सरूवामा धेरै वर्षपछि महानिरीक्षक बलियो भएका छन् ।
सरुवा भएका डिआइजीलाई आइजीपी सिंहले चार म्याण्डेट दिनुभएको छ । आइजीपी सिंहका अनुसार तस्करी नियन्त्रण, शान्ति सुरक्षाको अवस्था, प्रहरीको मनोबलमा सुधार र रचनात्मक कार्यको मुख्य चार म्यान्डेट दिएर डिआइजीलाई प्रदेशमा पठाइएको छ । यही आधारमा दुई महिनापछि मात्रै रिक्त चार एआइजीको बढुवा हुने भएको छ । सोही कारण बढुवाका आकांक्षीलाई प्रदेशमा सरुवा गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्