जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १३:४३

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


धनगढी, २९ पुस । सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।

हिजो भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो । पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रोपटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाउनुभएको थियो ।

दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उहाँ सभामुख हुन पाउनुभएन । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाउनुभएको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन सकेको थिएन ।