जनता टाइम्स

३० पुष २०७९, शनिबार १५:२०

धर्नास्थल माइतिघर पुगेर गृहमन्त्री लामिछानेले भेटे पीडित


काठमाडौं, पुस ३० । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गर्नुभएको छ । आज माइतिघर नै पुगेर गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई शनिबार भेटेर गृहमन्त्री लामिछानेले धर्ना स्थगित गरेर घर फर्कन आग्रह गर्नुभएको हो । पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताउनु भयो । तर यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय लाग्नसक्ने उहाँको भनाइ छ ।

निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले आफै पुगेर पीडितहरूलाई भेट गर्नुभएको हो ।

’अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घटनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु । तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ । त्यसैले यो चिसोमा नबसेर घरमा गइदिनुहोला । बरु सरकारले के सहयोग गर्नु पर्छ त्यसका लागि म तयार छु,’ गृहमन्त्री लामिछानेले भन्नुभयो ।

प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको बताउनु भयो । उहाँले धर्ना नछाड्ने भन्दै सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनु भयो ।