जनता टाइम्स

१ माघ २०७९, आईतवार १४:३९

कर्णाली सभामुखमा एमालेको नन्दा गुरुङ निर्वाचित


सुर्खेत, १ माघ । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सुर्खेतको गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभयो । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गर्नुभयो । ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने मतदान गर्नुभएन ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले सुर्खेको गुरुङलाई सभामुखको उमेदवार बनाएको हो । कर्णालीको दोस्रो सभामुख बन्नुभएको गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो ।