पोखरा, माघ १ । पोखरा बिमानस्थलमा अवतरण गर्नै लाग्दा सेती नदीको खोचमा दुर्घटनामा परेको यति एअरलाइन्सको बिमानमा रहेका घाइतेको उद्धारमा भन्दा स्थानीयहरु भिडियो बनाउनेतिर लागेको तथ्य बाहिर आएको छ । बिमान दुर्घटनापछि सवैभन्दा पहिला पुग्नुभएका युवा विकास बस्यालले यो तथ्य खोल्नुभएको हो ।
बिमान दुर्घटनामा परेकामध्ये ७ जनालाई उद्धार गर्नुभएका बस्यालले घटनास्थलमा आफूबाहेक १४–१५ जना मानिस भएको भएपनि कोही सघाउन नआएको बताउनु भएको छ । । अनलाइन खवरका पोखरास्थित संवाददाता रहनुभएका पत्रकार विकास रोका मगरसँगको कुराकानीमा बस्यालले यो तितो सत्य बाहिर ल्याउनु भएको हो ।
काठमाडौंबाट चालक दलका ४ सदस्य र ६८ यात्रुसहित ७२ जनाको उडान भरेको यति एअरलाइन्सको एएनसी एटीआर–७२ बिमान पोखरा विमानस्थलमा अवतरणको हुनुभन्दा केही समय मिनेट अघि आज बिहान दुर्घटना भएको हो । सो बिमानको अवतरण समय १०ः५९ बजे रहेकोमा थियो । तर, उक्त विमान पोखरा विमानस्थलमा अवतरण हुन नपाउँदै दुर्घटना भयो ।
दुर्घटनालाई आफ्नै आँखाले देखेपछि बस्याल चप्पलसमेत नलगाई दौडदै घटनास्थल पुग्नुभएको थियो । बिमान दुर्घटनापछि सवैभन्दा पहिला पुगेका उद्धारकर्मी बस्यालले भन्नुभएको छ, ‘बिमान दुर्घटनामा परेकाहरुलाई उद्धार गर्न आउनोस भन्दा भिडियो खिचेर बसे, कोही आएनन, म एक्लैले ७ जनालाई जिउँदै निकालेको हो ।’ बस्याल जस्ता युवाको प्रेरणादायी कामबारे जानकारी दिन र उद्धारभन्दा भिडियो बनाएरु बस्ने समुहको भण्डाफोर गर्न हामीले अनलाइन खवरबाटै फोटो साभार गरी यस घटनालाई स्थान दिएका छौं ।

यस्तो छ बस्यालको पीडादायी बयान
म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित प्लेन मेरो आँखै अगाडि सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिए । चप्पल पनि लगाएको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिए । त्यहाँ पुगेर मैले उनलाई तानें । उनको सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनू भन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।
मैले नहाल्नू–नहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४–१५ जना नजिकै थिए । तर, त्यहाँ कोही बचाउन आएनन ।
प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सास चलिराखेको थियो । पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन । सबै भिडियो बनाएर बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान, दाजु भाइ होलान् आउनुस’ भनेको हुँ । मेरो कुरा कसैले सुनेनन, म एक्लैले ७ जनालाई बाहिर निकालें ।













प्रतिक्रिया दिनुहोस्