काठमाडौं, १ माघ । पोखरामा आज बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताउनुभयो । ‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरू खोजी गर्नेछौँ’, प्रमुख केसीले भन्नुभयो ।
दुर्घटनामा परि ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । ‘अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमवार पनि खोजी कार्यलाई तीव्र पार्छौँ’, उहाँले भन्नुभयो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् ।
नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाण्डौबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा रहेका चार जना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । ‘सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो’, प्रजिअ केसीले भन्नुभयो । मृतकका परिवारलाई सोमवार शव बुझाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्