जनता टाइम्स

२ माघ २०७९, सोमबार ०९:३२

बिमान दुर्घटनाअघि प्रत्यक्षदर्शीले के–के देखे ?


पोखरा, माघ २ । यति एअरलाइन्सको बिमान आइतवार पोखरामा दुर्घटना हुँदा बिमानमा सवार ७२ जनाकै मृत्यू भएको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा अवतरणको अनुमति पाइसकेपछि बिमान एक्कासी दुर्घटनामा पर्यो । स्थानीय प्रत्यक्षदर्सीका अनुसार बिमान एकैपटक पल्टिएर दुर्घटनामा परेको थियो । के के देखे प्रत्यक्षदसर््ीले ? यस्तो छ उनीहरुको भनाई ।

८७ वर्षीय बबरजन गुरुङ भन्नुहुन्छ : जहाज तीनपटक दायाँ–बायाँ कोल्टिँदै बाँसको झ्याङमा गएर ठोक्कियो

म घरअगाडि घाम तापेर बसिरहेको थिएँ । माथिबाट एक्कासि बेग्लै चर्को आवाज निकाल्दै जहाज आयो । यस्तो आवाज यसअघि कुनै जहाजको पनि थिएन । विगतमा भन्दा धेरै कम उचाइबाट उडेको जहाज मेरो घरमाथिबाटै घुम्यो । त्यसपछि तीनपटकसम्म दायाँ–बायाँ कोल्टिँदै नजिकैको बाँसको झ्याङमा ठोक्किएर सेतीको खोँच (उनको घरबाट दुई सय मिटरको दूरी)मा खस्यो । केहीबेरमै चर्को आवाज आयो, धुवाँको मुस्लो छुट्यो, दनदनी आगो बल्न थाल्यो । तत्कालै मानिस दुर्घटनास्थलमा जम्मा भए । सुरक्षाकर्मी पनि आएपछि उद्धार सुरु भयो । यती एयरलाइन्स लेखेको कागजको ग्लास र जहाजको टिनको पाता उछिट्टिएर मेरो घरको कम्पाउन्डसम्म आइपुगेको थियो ।

एयरपोर्टमा झर्नुपर्ने जहाज अर्कै बाटो लागेको शंका बढेको थियो : चिजा विक

जहाज काउँडाँडामाथिबाट घुमेर आएको थियो । एयरपोर्टमा झर्नुपर्ने जहाज पृथ्वीचोकबाट केही माथितिर लाग्दै फेरि तलतिर गयो । तल किन गयो भनेर मनमा शंका लाग्यो । जहाज कता जाने रै’छ भनेर हेरिरहेँ । नजिकैबाट फेरि जहाज घुम्यो । घुमेर केही अगाडि आएपछि भने सेतीको खोँचमा खस्यो । त्यसको केही समयपछि ठूलो आवाज आयो ।

दुर्घटनालगत्तै घटनास्थल पुगेका बुद्ध छिनाल भन्नुहुन्छ : तत्काल पानी पाएको भए केहीलाई जीवितै उद्धार गर्न सकिन्थ्यो होला

म घरमै बसिरहेको थिएँ । फरक आवाज निकाल्दै एउटा जहाज अगाडि बढिरहेको थियो । हामी बसेको स्थानभन्दा केही अगाडि पुगेर जहाज घुम्यो र केही अगाडि पुग्नेबित्तिकै खोँचमा खस्यो । सँगै रहेका ६–७ जना साथीसहित म जहाज खसेको स्थानतिर दौडिएँ । हामी दुर्घटनास्थल पुग्दा जहाजमा आगो लाग्न थालिसकेको थियो । तीन–चारवटा शरीर चलमलाइरहेको अवस्थामा देखेका थियौँ । तर, उनीहरूको शरीरमा आगोको लप्काले छोइसकेको थियो । तत्काल पानी पाएको भए उनीहरूलाई जीवितै उद्धार गर्न सक्थ्यौँ होला, तर पानी थिएन ।

एक महिलालाई तान्यौँ । उनको खुट्टामा केही चोट थियो, शरीर केही भएको थिएन, तर बेहोस थिइन् । तत्काल १०० मा फोन गर्‍यौँ, तर व्यस्त थियो । त्यसपछि १०–११ जनालाई निकालेर माथि ल्यायौँ । एउटा बच्चाको टाउको थिएन, त्यो शवलाई त्यहीँ छाड्यौँ । जहाजमा आगो दन्किन थालेपछि जहाज पड्किने हो कि भनेर हामीलाई डर लाग्यो । दुर्घटनास्थल भिरालो पनि भएकाले हामी माथि आयौँ । त्यसपछि केही साथी नजिकैको नयाँगाउँ बोरिङमा गएर ट्यांकरमा पानी ल्यायौँ । पानी हाल्न थालेपछि मात्रै सुरक्षाकर्मी र उद्धार टोली आए । त्यतिवेला दुर्घटना भएको १५–२० मिनेट भइसकेको थियो ।