जनता टाइम्स

७ माघ २०७९, शनिबार १०:१३

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता


सुर्खेत ,७ माघ । गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी हुनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिनुभयो । स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किनुभयो । स्वास्थ्य संस्थाले उहाँलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा ग¥यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो । तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य हुनुभयो । उहाँले अहिलेसम्म पनि सुत्केरी भत्ता पाउनुभएको छैन ।

पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्टपनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी हुनुभयो । उहाँले पनि सुत्केरी र पोषण भत्ता पाउनुभएन । स्वास्थ्य केन्द्रले उहाँलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो ।

मनिषा र विमला मात्रै होइन् । गत असारदेखि जुनीचाँदेका कुनैपनि सुत्केरीले भत्ता पाउन सक्नुभएको छैन। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता पाउने व्यस्था छ । कुल चार हजार आठ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ । तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सक्नुभएको छैन। गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसक्नुभएको हो ।

आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ । तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भने समयै सुत्केरी भत्ता पाउन सक्नुभएको छैन।

सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाउनुभएको छैन । सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेवापत भत्ता दिने व्यवस्था गरेको छ ।

राज्यबाट गर्भवतीलाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरुप विभिन्न भत्ताको व्यवस्था गरेको हो । तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ ।

सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रम अनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन ।

सुत्केरी भएको समयमा भत्ता नपाएपछि पटक–पटक स्वास्थ्य संस्था जान बाध्य भएका छन् । ‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्य चौकीमा जान्छौँ तर जहिले गएपनि भत्ता नआएको भन्दै फर्कादिन्छन्’ जुनीचाँदे ५ शन्तोसी गिरीले भन्नुभयो, ‘घरआँगनको सरकार भएर के गर्नु गाउँपालिकाले हाम्रो पीडा बुझेन् ।’

असारमै सबै कागजात पेश गर्दापनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ । समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधिखोजी गर्ने गरेका छन् । कतिपयले पटक–पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउनुहुन्छ।

रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु २०७९र८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताउनुभयो ।

भत्ताका लागि पालिकामा ९८ जना आमाहरूको फाइल आइपुगेका छन् । कार्यालयमा आएका कागजात जाँचबुझ गरेर तत्काल रकम निकाशा लागि प्रक्रिया अगाडी बढाएको शाहीले बताउनुभयो ।