जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १८:५३

प्रधानमन्त्रीले आनाकानी गरेपछि ओली भेटन बालकोट पुगे रवि लामिछाने


काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटन बालकाुट पुग्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालय अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म दिन नसकिने बताउनु भएपछि लामिछाने गठबन्धनका प्रमुख दल एमाले अध्यक्ष ओलीसँग कुरा गर्न बालकोट पुग्नुभएको हो ।

भेटमा लामिछानेले सरकार गठनअगावै सहमति भएको गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेको भन्दै आफूहरु सरकारबाट बाहिरिने धारणा राख्नुभएको छ । लामिछानेले प्रधानमन्त्रीसँगको छलफलमा आफूले प्रधानमन्त्री नियुक्त हुनुअघिको सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएको भन्दै अध्यक्ष ओलीसँग पनि यही धारणा राखेको स्रोतले बतायो ।

जवाफमा ओलीले आफू सहमति कार्यान्वयन होस भन्ने पक्षमै रहेको भन्दै आवेगमा आएर तत्काल कुनै अप्रिय निर्णय नलिन लामिछानेलाई सुझाउनु भएको स्रोतको भनाई छ ।

एमाले अध्यक्ष ओली र लामिछानेबीचको भेटमा एमाले उपमहासचिव बिष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।