काठमाडौं, माघ २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्ताकै परिवारका सदस्यले समेत आफ्नो पार्टीलाई भोट नहालेको तथ्य खोल्नुभएको छ ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले यस्तो तथ्य खोल्नुभएको हो । अध्यक्ष नेपालले प्रतिवेदनमा केन्द्रीय कमिटीमा रहेका नेता नै चुनावमा नगएको आरोप लगाउँदै भन्नुभएको छ, ‘पार्टी र विभिन्न जनसंगठनका कमिटीहरूमा संगठित १ लाख ६६ हजार ४ सय २६ जना र विभिन्न जनसङ्गठन, पेशागत सङ्गठन, सामुदायिक सङ्गठन र प्रवासी सङ्गठनमा समेत सङ्गठित जन शक्ति सानो थिएन तर त्यो परिचालित भएन ।’
अध्यक्ष नेपालले उल्लेख गरेको पार्टी सदस्य संख्याअनुसार नेता–कार्यकर्ताको परिवारका एक जना सदस्यले मात्रै भोट दिएको भए नेकपा एसको ३ लाख ३२ हजार ८ सय ५२ मत आउने थियो । तर चुनावमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकी राष्ट्रिय पार्टी बन्न नै सकेन । नेकपा एसले मंसिर ४ गते सम्पन्न निर्वाचनमा २ दाख ९८ हजार ३ सय ९१मत मात्रै पाएको छ । यस आधारमा परिवारका सदस्य नै नेकपा एसतिर आकर्षित नदेखिएको देखिएको खुलासा नेपालले गर्नुभएको हो ।
पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू सबै एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशन गरिएकोमा उनीहरू पनि चुनावी अभियानमा नगएको माधवको आरोप छ ।
नेपालले आफ्नो प्रतिवेदनमा नेकपा एमालेको बहुमत रोकेको र कांग्रेसलाई सवैभन्दा ठूलो दल बनाउन सकेको भन्दै खुसी ब्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्