जनता टाइम्स

२३ माघ २०७९, सोमबार २२:०५

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, माघ २३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएको छ । उद्योग, बाणिज्य तथा आपर्ति मन्त्री दामोदर भण्डारीलाई जानकारीसमेत नदिई निगमले मुल्य बढाएको हो ।