जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १४:१४

लोत्से मलमा भएको लुटपाटको घटनापछि कठोर बने आइजीपी, उपत्यकाका प्रहरी अधिकारीलाई दिए कडा निर्देशन


काठमाडौं, फागुन ३ । प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले जुनसुकै बेला शान्तिसुरक्षा र अमनचयनका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मंगलवार बालाजुमा भएको लुटपाटको घटनाले प्रहरीमाथि चर्काे आलोचना भएपछि आइजीपी सिंहले आज काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै यस्तो बताउनु भएको हो ।

आइजीपी सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता निकै महत्वपूर्ण रहने बताउनु भयो । उहाँले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न पनि निर्देशन दिनुभएको छ । मंगलवार बालाजुको ल्होत्से मलमा भएको मोबाइल लुटपाटको घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन आइजीपी सिंहले उपत्यकाका प्रहरीहरुलाई निर्देशन दिनुभयो ।

‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु,’ आइजीपी सिंहले भन्नुभयो । उहाँले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने पनि बताउनु भयो ।

आइजीपी सिंहले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । यस्तै फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि निर्देशित गर्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले सङ्गठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि सम्पूर्ण प्रहरी कर्मचारी प्रतिबद्ध रहेको बताउनु भयो ।