काठमाडौं, फागुन १० । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनु भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
अर्थमन्त्री पौडेलले लघुवित्तमा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी पनि दिनुभयो । अर्थमन्त्री पौडेलका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानको बिषयमा विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको छ ।
लघुवित्तको क्षेत्रमा देखिएका समस्याले ऋणीहरु प्रभावित हुने अवस्था आएकोले समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालनी गरेको अर्थमन्त्री पौडेलले बताउनु भयो ।
‘सरोकारवालाहरु सहित बैठक बसेका छौं । केही महत्वपूर्ण निर्णयहरु पनि गरेका छौं । लघुवित्तमा समस्या आउनुका कारणहरु खोजेर समाधानको लागि सम्बन्धित निकाय लागिसकेका छ् । त्यसका परिणामहरु आउँदैछन,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।
उहाँले सरकारका नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाइएको बताउनु भयो । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको मन्त्री पौडेलको भनाई छ ।
सरकार निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको भन्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ पनि आफू गम्भीर भएर लागेको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्