जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १५:३२

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ : ओली


काठमाडौं, फागुन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रष्ट पार्नुभएको छ ।

संसद भवनबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने प्रष्ट पार्नुभएको हो ।

सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने ओलीको भनाइृ छ । उहाँले अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको र राष्ट्रपतिमा पूर्वसहमतिअनुसार एमाले अघि बढेको बताउनु भयो ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । उम्मेदवारको टुंगो लगाउन एमालेले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । सोही बैठकबाट आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने एमालेको गृहकार्य रहेको छ ।