काठमाडौं, फागुन १३ । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
एमाले उपाध्यक्ष नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । उहाँको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओलीसहित पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक हुनुहुन्छ ।
समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के हुनुहुन्छ ।शनिबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्व सभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्