जनता टाइम्स

१७ फाल्गुन २०७९, बुधबार १८:५६

नेकपा एसबाट निर्वाचित शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, फागुन १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनुभएका गुप्तालाई घुस लिएको प्रमाणित भएपछि अख्तियारले मुद्धा दायर गरेको हो ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।