काठमाडौं, फागुन १८ । आठ दलीय गठबन्धनमा आवद्ध भएको नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा मतदानका लागि उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री र सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री माग गरेको छ ।
राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गर्नुभएको हो । त्यस्तै संघमा एक राज्यमन्त्रीसमेत माग गरेको छ ।
पौडेलसहितका नेताहरुसँग चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राख्नुभएको छ । चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राख्नुभएको हो । वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उहाँको माग छ । त्यस्तै सो पार्टीले लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेको छ ।
चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गर्नुभएको छ । चौधरीले सुदूरपश्चिम प्रदेशलाई खप्तड–थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेको हो । संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान पनि राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्