जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १२:५७

आफ्नै अडानमा टिक्न सकेन निर्वाचन आयोग, उपराष्ट्रपतिमा कायम राख्यो रामसहायको उम्मेदवारी


काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उहाँको उम्मेदवारी कायम हुने निर्णय अधिकृतको कार्यालयले गरेको हो ।

फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

’राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य र बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदायको हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिँदा खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न मिल्दैन,’ पौडेलले भन्नुभयो ।

यो निर्णयसँगै निर्वाचन आयोग आफ्नै अडानमा टिक्न नसकेको तथ्य उजागर भएको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मिडियामा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने अडान राख्नुभएको थियो ।

जसपा नेता यादवविरुद्ध उपराष्ट्रपतिमा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाका प्रतिनिधिले उजुरी दर्ता गराएका थिए । पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा महिला मात्रै उपराष्ट्रपति उम्मेदवार हुनुपर्ने शाक्य र झाका प्रतिनिधिकको माग थियो ।

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार हुनुहुन्छ भने जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी उम्मेदवार हुनुहुन्छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।