अछाम, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले सत्ता गठबन्धनको सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताउनुभयो ।
मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौं, तर अहिले त्यतातिर लागेका छैनौं ।’ उपाध्यक्ष पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राख्नुभयो ।
पूर्वउप्रधान तथा अर्थमन्त्री रहनुभएका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको भनाइ राख्नुभयो ।
वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलको दावी छ । प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने उहाँको भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचको एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताउनुभयो ।
एमाले अछामका अगुवा कार्यकर्तालाई मिसन ग्रासरूट अभियानका बारेमा प्रशिक्षण गर्न अछाम पुग्नुभएको पौडेलसँगै एमालेकै केन्द्र सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत हुनुहुन्छ । पौडेल ग्रासरूट अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्