जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार १८:००

गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्छ : अध्यक्ष ओली


काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने आशंका व्यक्त गर्नुभएको छ । आज एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाजशरम नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन, अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’ उहाँले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाजशरम नमानी जेसुकै पनि गर्न सक्ने बताउनुभयो । उहाँले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताउनुभयो । ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन’, उहाँले थप्नुभयो । गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको पनि प्रष्ट्याउनुभयो ।