जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १५:३८

विद्यादेवी भण्डारीको नेतृत्वमा महिलाको ३३ प्रतिशत हक प्राप्त भएको हो : थममाया थापा


काठमाडौं, २५ चैत । अखिल नेपाल महिला संघको संयोजक थममाया थापाले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा महिलाहरुको ३३ प्रतिशत सहभागिता,विभेदपूर्ण कानून खारेज, महिला हिंसकाको अन्त्य र आमाको नामबाट नागरिकता पाउने प्रस्ताव पारित भएको बताउनुभएको छ ।

आज काठमाडौंमा शुरु भएको अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्नुहुँदै अध्यक्ष थापाले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानूनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आइरहने बताउनुभयो ।

उहाँले अखिल नेपाल महिला संघले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता र आमाको नामबाट नागरिकता पाउने व्यवस्था आफ्नो नेतृत्वमा प्राप्त भएको भन्दै यसको स्वामित्व लिने घोषणा गर्नुभयो । निवर्तमान राष्ट्रपति विद्या भण्डारीकै नेतृत्वमा उक्त व्यवस्था अन्तरिम संविधान र संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख गरिएको भन्दै संयोजक थापाले एमालेका कारण प्राप्त भएका महिला अधिकारको विषयमा अरूले स्वामित्व लिन खोजेको आरोप समेत लगाउनुभयो । सम्मेलन भोलीसम्म काठमाडौंको प्रज्ञा भवनमा चल्नेछ ।