जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार ०९:५०

झोले हुनुमा गर्व गर्नुस


पार्टीको कुनै नेता कार्यकर्ताको सानोतिनो कमी कमजोरीले सिङ्गो पार्टीको बदनामी नगर्नुहोस । पार्टी प्रति नै गुनासो भए नयाँ पार्टी रोज्नु होस वा स्वतन्त्र बन्नु होस। एउटा पार्टीको कार्यकर्ता भएर स्वतन्त्र हुँ भन्दै अर्को पार्टीको आलोचना गर्ने खेदो खन्ने काम नगर्नुस । आफ्नै पार्टी मित्र भए अन्तर पार्टी सङ्घर्ष फरक पार्टी भए स्वस्थ प्रतिस्पर्धा गर्नुहोस । राजनीतिमा सबै भन्दा महत्वपूर्ण ईमान्दारिता हो, ईमान्दार बन्नु होस, ईमान्दार बनाउने प्रयत्न गर्नु होस र नागरिकको कर्तव्य पालना गर्नुहोस

बिनोद पोख्रेल

आजभोलि सामाजिक सञ्जालमा निकै प्रयोग हुने शब्द हो झोले । एउटा बिचार बोकेको मान्छे मन नपरेपछि गाली गर्ने शब्द नै हो झोले । कोही कसैले कुनै पार्टी वा दलको नेताको खुलेर समर्थन गर्छ भन्ने उसलाई झोलेको पगडी लगाइन्छ । अहिले कुनै पनि पार्टीको कार्यकर्तालाई झोले भनेको मन पर्दैन । उसले आफूलाई पार्टीको कार्यकर्ता वा शुभेच्छुक भन्न रुचाउँछ र त्यसमा गौरब ठान्छ । वास्तवमा के हो त झोले भनेको ? झोले भन्दा किन आफूलाई अपमान गरेको हेपेको महसुस गर्छन त त्यसका कार्यकर्ता ? त्यसबारे अहिलेका कतिपय युवा पङ्तीलाई थाह नहुन सक्छ, अनुभूति नगरेको हुन सक्छ । यसै सन्दर्भमा अलिकति गहिरिने कोसिस गरौँ ।

जुन बेला सामाजिक सञ्जाल थिएन, सञ्चार माध्यम जनताको पहुँचमा थिएन र पार्टीहरू प्रतिबन्धित थिए । उनीहरूले आफ्ना बिचार नीति कार्यक्रमहरू सहज रूपमा जनता समक्ष पुर्याउन सक्दैन थिए । त्यतिबेला पर्चा पम्पलेको माध्यमबाट नै गाउँ गाउँमा, घर घरमा जनता समक्ष आफ्ना सन्देशहरू पुर्याउने गर्थे। ती पर्चा पम्पलेटहरु एउटा झोलामा राखेर बोकेर नेता कार्यकर्ताहरू गाउँ गाउँ पस्ने गर्थे र पर्चा पम्पलेट बाँढने गर्थे । त्यस्ता झोला बोक्नेलाई पार्टीका विरोधीहरू झोले भन्थे ।

त्यो समयमा यातायातको पनि सहज थिएन । पार्टीका कार्यक्रमहरूमा जाँदा कति दिन बाहिरै बस्नु पर्थ्यो त्यो पनि गोप्य रूपमा। शासकहरूले जहाँ भेट्यो, पक्राउ गर्थे । जता कतै सुराकिहरु छोडेको हुन्थ्यो । त्यसकारण नेताहरू कही कतै कार्यक्रम वा भेटघाटमा जाँदा उनीहरूले एउटा झोला बोक्नै पर्ने आवश्यक नै हुन्थ्यो । त्यसमा पार्टीका महत्वपूर्ण कागजात, विभिन्न पुस्तकहरू हुन्थे । फुर्सदको समयमा पढ्ने लेख्ने गर्थे । आफ्नो धारणा तथा बिचारहरू तत्थ्य रूपमा राख्न स्वअध्ययन आवश्यक नै थियो ।

असहज शासन व्यवस्थामा नेताले बोक्ने झोला सारै महत्वपूर्ण तथा पार्टीको बौद्धिक सम्पत्तिको रूपमा लिइन्थ्यो । विशेष गरी कम्युनिस्ट पार्टीका नेता मात्र होइन जिम्मेवार कार्यकर्ताहरूले पनि एउटा झोला बोकेकै हुन्थे । त्यो झोला एउटा जिम्मेवार नेता, पार्टी संगठक तथा कार्यकर्ताको आदर्श थियो। त्यस भित्र रहेका कागजात पुस्तकहरू आफूले पाउन, पढ्न कार्यकर्ताहरू लालायतै हुन्थे । त्यहीँ परिपाटीको निरन्तरता गर्दै अहिले पनि विभिन्न पार्टी वा संघ, संस्थाका कार्यक्रम, अधिवेशन वा महाधिवेशनहरूमा त्यस्तै झोलामा प्रतिवेदनहरू, दस्ताबेजहरू कापी कलमा राखेर प्रतिनिधिहरूलाई दिने गरिन्छ । अहिलेको आधुनिक संसारमा तथा प्रविधिले गर्दा झोलाको महत्व नभए पनि एउटा सङ्गठनको प्रतिबद्ध प्रतिनिधिको प्रतीकको रूपमा झोलालाई लिइएको हुन सक्छ ।

केही दिन अघि मात्र हाम्रो प्रवासी नेपालीहरूको एउटा ग्रुपमा एक जना साथीले अर्कोलाई झोलेको आरोप लगाउँदै हुनु हुन्थ्यो । वहाँले एक जना नेताले चितवनमा चुनावको सन्दर्भमा कार्यकर्तालाई दिएको कडा निर्देशनलाई अलि निकृष्ट रूपमा गाली गर्दै हुनु हुन्थ्यो र सो कुरा सामाजिक सञ्जालमा पनि लेख्नुभएको रहेछ । बहस एक छिन गर्मा गर्मी भैरहेको थियो। ती साथीको भनाई थियो, म झोले होइन नेताले गरेको राम्रो कुराको समर्थन गर्छु, नराम्रो लागे जहाँ गए पनि विरोध गर्छु भन्दै हुनु हुन्थ्यो ।

अरू साथीहरूले नेताहरूलाई त्यसरी सामाजिक सञ्जालमा गाली गलोज गर्नु हुँदैन, गल्ती कमजोरी गरेको भए पार्टीको आधिकारिक फोरममार्फत विरोध वा आलोचना गर्नुपर्छ । वास्तवमा पार्टीको विधि पद्धति पनि त्यही नै हो। तर अहिले छाडा तन्त्र तथा उच्छृङ्खलता हरेक पार्टीमा छ । पार्टीको कार्यकर्ता पनि हुँ भन्ने आफैले नेता चुन्ने आफ्नो नेतालाई जहाँ मन लाग्यो त्यही गाली गर्ने।अहिले बोल्न पाउने, विरोध गर्न पाउने अधिकार अनुसार जो जसले जहाँ पनि नेताहरुको विरोध गरेको, खुइल्याउने गरेको देखिन्छ । पार्टीको सङ्गठित सदस्य हुने तर पार्टीको नीति निर्देशन पालना नगर्ने परिपाटीको विकास तीव्र रूपमा भैरहेको छ ।

पहिले पहिले कुनै पनि पार्टी सङ्गठनको सदस्यका पाउन निश्चित आधारहरू हुन्थे । पार्टी सङ्गठनमा रहेर निश्चित अवधि काम गरेको आधारमा सदस्यता दिइन्थ्यो । पार्टीका हरेक सदस्यको निश्चित जिम्मेवारी तोकिएको हुन्थ्यो। अहिले कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा सहजै सदस्यता दिइन्छ अझै अर्को कुनै पार्टीको सदस्य रहेछ भने फुल माला लगाएर स्वागत पनि गरिन्छ। त्यस्ता व्यक्तिलाई पार्टीको न कुनै नीति सिद्धान्त थाह हुन्छ न पार्टीभित्र सङ्घर्षको कुनै अनुभव । कतिपय मान्छेहरु त निहित स्वार्थको लागि पार्टीभित्र आएका हुन्छन, स्वार्थ सिद्ध नभए पार्टीलाई बदनामी गरेर निस्कन्छन । अनि त्यस्तैले भन्छन, म कसैको झोले होइन ठिकलाई ठिक भन्छु ठिक नलागे विरोध गर्छु । त्यो उनीहरूको स्वार्थसँग गाँसिएको ठिक बेठिक हुन्छ । समष्टिगत रूपमा पार्टीको सिद्धान्त, नीति तथा कार्यक्रमहरू प्रति असहमतिको कुरो त्यहाँ हुँदैन।

मैले अनुभूति गरेको पार्टीलाई समर्थन गर्ने सामान्य भोटरहरू बाहेक पार्टीका समर्थकहरू तिन किसिमका हुन्छन जस्तो लाग्छ। पहिलो, सङ्गठित सदस्य तथा कार्यकर्ताहरू जो पार्टी प्रति पूर्ण प्रतिबद्धता निष्ठावान हुन्छन । उनीहरू मधे बाटै नेतृत्व चयन हुन्छन । पार्टी सङ्गठन निर्माण तथा परिचालनका जिम्मेवार उनीहरू नै हुन्छ। यिनीहरू पार्टीको अघिल्लो मोर्चामा उभिएका हुन्छन । पार्टी तथा सरकारको कार्यकारी भूमिकामा यिनीहरूको रुचि हुन्छ । दोस्रो, शुभेच्छुकहरू उनीहरू पार्टीको सदस्यता लिएर बाँधिएका हुँदैनन् तर पार्टीको शुभचिन्तक पार्टीको सदा हित चिताउँछन् पार्टीले देशमा निर्वाचन जितोस देश बनोस भन्ने चाहना राख्छन । आवश्यक परे पार्टीलाई भौतिक, आर्थिक तथा रणनीतिक सहयोग गर्छन्।पार्टीको कार्यक्रमको पछिल्लो मोर्चामा बसेर पार्टीलाई बलियो बनाउन प्रयास गर्दछन।

यिनीहरूले पार्टीबाट व्यक्तिगत रूपमा धेरै अपेक्षा त गर्दैनन तर पार्टीले पाउने अवसरहरूमा आफूलाई पनि सम्मान गरोस् भन्ने चाहना राख्दछन । तेस्रो, प्रशंसकहरू यिनीहरू पार्टीको विचार, नीति, कार्यक्रम बाट भन्दा पार्टीको कुनै नेतृत्व वाट प्रभावित भएर पार्टीलाई सहयोग गर्दछन । निर्वाचनमा त्यो पार्टीलाई जितोस् भन्ने कामना गर्दछन । र त्यसको नेतृत्वले देश चलावस भन्ने कामना गर्दछन । सोही पार्टीका मन नपरेका अरू नेता हकको आलोचना पनि गर्दछन्। व्यक्तिगत रूपमा पार्टीबाट कुनै अपेक्षा राख्दैनन।

माथि उल्लेख गरेका पहिलो तहका पूर्ण रूपमा झोले नै हुन उनीहरू कहीँ न कतै पार्टीको झोला बोकेका हुन्छन । पार्टीलाई बलियो बनाउन कठिन समयमा पनि सङ्घर्ष गरेका हुन्छन । उनीहरूले आफूलाई झोले भन्दा गर्वको महशुस गर्नुपर्छ । दोस्रो तहका आफूलाई झोले भनेको मन पराउँदैनन तर कसैले पार्टीको विरोध आलोचना गरेको पनि रुचाउँदैन । सामाजिक सञ्जालमा पार्टी हितमा कलम चलाउँछन, पार्टीको पक्षमा माहौल बनाउन सक्रिय हुन्छन । तेस्रो तहका यिनीहरूलाई पनि झोले भनेको रुचाउँदैन । तर आफूलाई मन परेका नेताको प्रतिरक्षको लागि मैदानमै उत्रिन्छन । पार्टीको नीति कार्यक्रम अनुसार विरोध समर्थन दुवै गर्दछन ।

यसर्थ कोही पार्टीको सदस्य वा कार्यकर्ता भए उसले पार्टी अनुशासन अनुसार पार्टी वा नेताको समर्थन गर्नै पर्छ यदि कुनै नेताले पार्टी हित विपरीत काम कुरा गरेको छ भएको छ भने पार्टी पद्धति अनुसार कार्बाहीको भागिदार हुनैपर्छ । पार्टीबाट निष्कासन सम्म हुनसक्छ ।शुभेच्छुकले कुनै नेता कार्यकर्ताको आलोचना भए पार्टीको आधिकारिक धारणा पर्खेर बस्छ पत्रपत्रिकाले लेखेकै भरमा आलोचना गर्दैन । प्रशंसकले भने चाहे सत्य होस वा असत्य नेता कार्यकर्ताको कहीँ कतै आलोचना भए अझै भनौँ भने सञ्चार माध्यममा नकारात्मक समाचार बने तुरुन्तै आलोचना गर्दछ । सङ्गठनमा गरेको मेहनत सङ्घर्ष तथा वर्तमान परिस्थिति भन्दा तत्काल उसले भने अनुसार काम गर्यो /गरेन भने मात्र हेर्छ । हाम्रो जस्तो अस्थिर राजनीति भएको देशमा पार्टी तथा त्यसका नेतृत्वका प्रशंसकहरू समय समयमा फेरिँदै जान्छन ।

यसर्थ यदि तपाई पार्टीको कार्यकर्ता हुनु हुन्छ भने झोले नै बन्नुस पार्टी तथा नेतृत्वले भनेका बोलेका कुरा मान्नुस उनीहरूको निर्देशन पालना गर्नुस । जथाभाबी पार्टीको नेतृत्वको आलोचना गरेर खुइल्याउने का नगर्नुस । कुनै नेताहरूको आलोचना योग्य कुराहरू भए पार्टी सङ्गठनको विधि अनुसार ठाउँमा कुरा राख्नुस । आत्मालोचना गर्न लगाउनुस । अनुशासनको कार्बाहि गर्न लगाउनु होस तर विना प्रमाणित आधार विना कसैलाई होच्याएर आफू ठुलो बन्न कोसिस नगर्नुस । यदि तपाईँलाई कुनै पार्टी राम्रो लागेको छ र उसको भिजन, दृष्टिकोण, नीति तथा कार्यक्रमले नै देशले विकासको फड्को मार्छ भन्ने लाग्छ भने त्यसलाई बलियो बनाउने कोसिस गर्नुहोस ।

त्यस पार्टीको कुनै नेता कार्यकर्ताको सानोतिनो कमी कमजोरीले सिङ्गो पार्टीको बदनामी नगर्नुहोस । पार्टी प्रति नै गुनासो भए नयाँ पार्टी रोज्नु होस वा स्वतन्त्र बन्नु होस। एउटा पार्टीको कार्यकर्ता भएर स्वतन्त्र हुँ भन्दै अर्को पार्टीको आलोचना गर्ने खेदो खन्ने काम नगर्नुस । आफ्नै पार्टी मित्र भए अन्तर पार्टी सङ्घर्ष फरक पार्टी भए स्वस्थ प्रतिस्पर्धा गर्नुहोस । राजनीतिमा सबै भन्दा महत्वपूर्ण ईमान्दारिता हो, ईमान्दार बन्नु होस, ईमान्दार बनाउने प्रयत्न गर्नु होस र नागरिकको कर्तव्य पालना गर्नुहोस ।