जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार ११:२७

आफैले लगाएको सुन बन्यो यी दुई बालिकाको काल


रुकुम, चैत २६ । पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या गरिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएअनुसार दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेका हुन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जिता श्रेष्ठका अनुसार पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका ७ बर्षिया कञ्चन बुढा र उनकी दिदी ८ बर्षिया रिमा बुढाको हत्या भएको हो । ‘सुनको लोभमा दुई किशोरीले दुई बालिकाको हत्या गरेको देखिएको छ,’ डिएसपी श्रेष्ठले भन्नुभयो ।

गत चैत २२ गते कञ्चन र रिमा घर नजिकै बारीमा न्युरो टिप्न गएका थिए । नजिकै दुई युवतीहरुले बारीमा काम गरिरहेका थिए । कञ्चन र रिमाले सुनका गहना लगाएका थिए । बारीमा काम गरिरहेका दुई किशोरीमा सुनको लोभ जाग्यो । उनीहरुले कञ्चन र रिमाले लगाएको सुनका गहना लुट्न खोजे ।

सुन लुट्न खोज्दा दुवै बालिकाहरुले ती किशोरीहरुलाई चिनेको र आफूहरु फस्ने डरले किशोरीहरुले बालिकाहरुको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ति किशोरीहरुले सुनको गहना लुटे अनि दुबै बालिकाको घाँटि थिचेर हत्या गरेका थिए।
हत्या गरिएका दुई बालिकाको शब उनीहरुले भिरबाट फालिदिएका थिए ।

घटना स्थलमा रहेका पत्रकार सुदन थापाका अनुसार शब हत्या गरिएको स्थान भन्दा एक किलोमिटर टाढा भिरबाट अनकन्टार ठाउँमा उनीहरुको शब फालिदिएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रण लिएको छ ।