जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १४:१४

युवा संघको महाधिवेशन तयारी पूरा, उदघाटन समारोह भब्य बनाउन यस्तो छ बिशेष तयारी


नेपालगञ्ज, चैत २६ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

भोली चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

‘रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो,’ बस्नेतले भन्नुभयो, ‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन ।’

उहाँले राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने बताउनु भयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उहाँले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयन मात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिनुभयो ।

महाधिवेशनबाट नेतृत्व चयन सर्वसहमत गर्ने प्रयास भईरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताउनुभयो । ‘नेतृत्व चयनको लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यही भावनाअनुसार अघि बढिने छ,’ उहाँले भन्नुभयो, ‘पार्टी र युवा संघमा राजनीतिक वा बैचारिक कुनै गुटबन्दी छैन, पद प्राप्तीको लागि टकराव हुनसक्छ । यसलाई हामीले व्यवस्थापन गर्नेछौँ ।’

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उहाँको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने महाधिवेशनको उदघाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले बताउनुभयो ।

महाधिवेशनको उदघाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उहाँको भनाई छ । महाधिवेशन उदघाटन समारोहमा नेकपा एमाले बाँकेसँगको समन्वयमा दश हजार बढी जनपरिचालन गरिने गुरुङले बताउनु भयो ।

महाधिवेशन उदघाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनुहुने छ ।

उदघाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वडलगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम तय भएको छ । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्षहरु, महासचिव लगायतका नेताहरु कार्यक्रम स्थल नेपालगञ्जको होटल स्नेहमा खटिनु भएको छ ।

महाधिवेशनमा भाग लिन देशभरीका दुई हजार बढी प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आउदै हुनुहुन्छ । प्रतिनिधि तथा अतिथिहरुलाई नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन मूल आयोजक समिति सहसंयोजक केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयो ।