काठमाडौं, चैत २७ । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालकाे सुरक्षा संयन्त्रमाथि प्रश्न उठ्नेगरी भारतीय सुरक्षा संयन्त्र नेपाल पसेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमतिबिनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताउनुभयाे । बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजबिन गर्ने अधिकार नदिएकाे सांसद् पन्तले बताउनुभयाे ।
‘सबैभन्दा संवेदनशील हाम्रो सुरक्षा संयन्त्रले खोजतलास गर्दा नेपालमा छ भनेर पत्ता लाग्न सकेको छैन, तर वीरगञ्ज नाका र बाँकेको जमुना नाका भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरू नेपाल प्रवेश गरेका छन् र उनीहरू अमृतपाल खोज्न भनेर आएका छन् भनेर समाचारहरू छापिएका छन्, कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजबिन गर्ने अधिकार दिएको छैन, नेपाल स्वतन्त्र, सार्वभाैम देश हाे यसले आफ्नाे निर्णयकाे अधिकार आफैं प्रयाेग गर्छ,’ उहाँले भन्नुभयाे ।
नेपालकाे सुरक्षा संयन्त्र आफैंमा बलियाे भएकाे र अरु देशबाट भागेर आएका अपराधीलाई पनि पक्राउ गरेकाे सांसद् पन्तले बताउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ, उदाहरणको लागि चार्ल्स शोभराजलाई लिन सकिन्छ, धेरै देशकाे सुरक्षा संयन्त्रलाई छल्याे तर नेपालमा पक्राउ परेर जेल जीवन बिताएर गयाे, हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास हुनेगरी भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन्, भनेपछि हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो, नेपालकाे कानुनले दिँदैन भने बाह्य देशका सुरक्षाकर्मी बलजफ्ती पस्ने कुरा उपयुक्त हाेइन ।’
यसबारेमा सदन र जनतालाई जानकारी दिन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । खुला सीमानाका कारण नेपाल अपराधकाे अखडा हुने गरेकाे भन्दै उहाँले खुला सिमाना नियन्त्रण गर्न सरकारकाे याेजना के छ भन्दै सांसद् पन्तले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
‘यता अपराध गरेर उता जाने उता अपराध गरेर यता आउने र नेपाललाई अपराधकाे अखडा हुने प्रयास भइरहेकाे छ, बाह्य सुरक्षाकर्मी यसरी आउने प्रक्रिया राेक्न सरकारले के गरिरहेकाे छ ? के याेजना छ ? जवाफ दिइयाेस् ।’













प्रतिक्रिया दिनुहोस्