जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १७:५४

विकास र समृद्धिका सवालमा एमालेलाई कसैसँग तुलना गर्न सकिँदैन : शंकर पोखरेल


नेपालगञ्ज, चैत २७ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले जतिबेला नेपाली जनालाई संकट पर्दछ त्यतिलबेला राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा खरो ढंगमा प्रस्तुत हुने संगठन भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै पोखरेलले नेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको बताउनुभयो । पोखरेलले राष्ट्रिय युवा संघ नेपाललाई संगठनको विरासतलाई अझ अघि बढाउन शुभकामना दिनुभयो ।

नेकपा गठन पछि पार्टी संगठन चलायमान हुन नसक्दा नेपालका युवा पुस्ता राजनीतिबाट नै पलायन हुने अवस्था आएको उहाँले बताउनुभयो । यसबाट अवसरवादीले टाउको उठाउने मौका पाएको पोखरेलको भनाइ छ ।  मुलुकलाई स्थायित्व तर्फ लैजानको लागि नेकपा एमाले अझै बलियो हुन आवश्यक रहेको पोखरेलले बताउनुभयो । यसको लागि युवाको बिचमा नेकपा एमालेलाई अझ सशक्त रूपमा पुर्याउन जरुरी रहेको पोखरेलको भनाइ छ ।

देशमा रहेको राजनीतिक अस्थिरता, अराजकता, कुशासन अन्त्यको लागि नेकपा एमालेले जित्नु पर्ने पोखरेलले बताउनुभयो ।  सामाजिक अराजकताले नेपालको सामाजिक मूल्य मान्यतालाई कमजोर बनाउँदै लगेको उहाँले बताउनुभयो । नेपाली समाजलाई विभाजित गर्नको लागि अनेक प्रयास भइरहेका भन्दै पोखरेलले आलोचना गर्नुभयो । नेपाली समाजलाई सही ढंगले अघि बढाउने सामर्थ्य नेकपा एमालेसँग मात्र भएको उहाँले बताउनुभयो ।

मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने अग्रणी पार्टीको रूपमा नेकपा एमालेले आफूलाई स्थापित गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘विकास र समृद्धिका सवालमा एमालेलाई कसैसँग तुलना गर्न सकिँदैन’, उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई एक्लो बनाएर दश दलको सरकार बन्दा त्यसको लाभ एमालेलाई भएको उहाँले बताउनुभयो । ‘हाम्रा लागि त भविष्यको सुनौलो बाटो तय भएको छ, नौ दल, दश दल मिलेर सरकार बनाए भने यो मुलुकमा एकैचोटी नौ दल, दश दल असफल हुने छन्, त्यस पछि जनताको रोजाइको लागि एउटै पार्टी बाँकी रहने छ, त्यो भनेको नेकपा एकाले मात्र हुने छ’, पोखरेलले भन्नुभयो ।

नेकपा एमालेले अहिले सत्ताको खेलमा नअल्झिने उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताको अन्त्य देशको समृद्धि एमालेको लक्ष रहेको उहाँले बताउनुभयो । साना दलको अवसरवादलाई अन्त्य गरी बलियो राष्ट्रिय शक्ति स्थापना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालका बलियो राष्ट्रिय शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएको बताउनुभयो । तर नेपाली कांग्रेस निर्वाचनमा एक्लै जान डराउँदा साना साना अवसरवादी शक्तिले ठाउँ पाएका पोखरेलको भनाइ छ ।