काठमाडौं, चैत २८ । मन्त्री बन्न सभापति रवि लामिछानेलाई २ करोड बुझाउनु पर्ने भन्दै मेडिकल ब्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार श्रेष्ठको अर्को अडियो टेप सार्वजनिक भएको हो । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको छ ।
सांसद श्रेष्ठले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको र सो क्रममा उनले चुनावको मुखमा रहेकोले रवि लामिछानेको बिषयमा राम्रो कुरा भनिदिन भनेको कपुरबोटले उल्लेख गरेको छ । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ ।
’दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो । तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर । अब यो नहुने कुरालाई बढाएर के फाइदा ?,’ फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन ।
उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ’त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला’ भन्दै फोन काटेका छन ।
सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन । प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्नुभएको छ । जवाफमा उनले हो भनेका छन ।
यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले ’दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो’ भन्छन्। दुर्गा प्रसाईंले ’यसमा मैले के गर्नुपर्छ त भन्नु न’ भनेर सोध्छन्।
’मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त । बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,’ प्रसाईंले भनेका छन्।
फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ’जे भए पनि दाइले बीचमा पारे क्यार । लाटो सोझो मान्छेलाई बीचमा पारे । हजुरले बुझिदिनु पर्यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ ।’ उनको यो भनाईले रवि लामिछानेले पैसा उठाउन श्रेष्ठलाई बीचमा पारेको प्रष्ट पारेको छ ।
सुन्नोस यो संवाद













प्रतिक्रिया दिनुहोस्