काठमाडौं, चैत २८ । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनको तयारी लगभग पूरा भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा यही चैत ३० र २०८० बैशाख १ गतेसम्म आयोजना हुन गइरहेको महासंघको महासममेलनको तयारी पूरा भएको अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिनुभयो ।
महासम्मेलनको उदघाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । अध्यक्ष दंगालका अनुसार महासम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । महासम्मेलन अघि महासंघले अन्तराष्ट्रिय किसान सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलन चैत २९ गते झापाको झिलझिलेमा आयोजना गरिने छ ।
महासंघ प्रचार बिभाग प्रमुख सरिता भुसालका अनुसार सम्मेलनका लागि आवश्यक सवै कार्य सम्पन्न भएको छ भने दसौं हजार किसानको सहभागितामा महासम्मेलनको उदघाटन गरिने छ ।
उदघाटन समारोहमा एमाले अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरु सहभागि हुनुहुने कार्यक्रम छ ।
महासम्मेलनले नयाँ नेतृत्व चयनसँगै कृषि क्षेत्रको बर्तमान अवस्था र चुनौतीको बिषयमा गहन छलफल गरी समाधानको बिषयमा ठोश धारणा तय गर्ने अध्यक्ष दंगालले जानकारी दिनुभयो ।

महासंघले समहासम्मेलनमा भूमि सम्बन्धी अधिकारको बिषयमा बिशेष प्राथमिकता दिएको छ । महासंघका अध्यक्ष दंगालका अनुसार भूमिहिन दलित, भूमिहिन गरिब किसानले जमिन पाउने संवैधानिक हक कार्यान्वयन गरी भूमिहीन गरिब किसानलाई जमिन प्रदान गर्ने भूमिसुधार तथा भूमिको व्यवस्थापन सम्वन्धमा मुख्य प्राथमिकता तोकिएको छ ।
महासंघका अनुसार असमान भूस्वामित्वको अन्त्य गरी वैज्ञानिक भूमिसुधार लागू, द्वैध स्वामित्वको अन्त्य, कृषि भूमिको चक्लावन्दी, जमिनको उकास, सुधार र उपयोग, नयाँ भूस्वामित्वको स्थापना, भूमिहीन किसानलाई भूमि प्रदान, प्रत्यक्ष कृषिउत्पादनमा संलग्न किसानलाई भूमि प्रदान गर्ने जस्ता मुद्दा रहेका छन ।
यसैगरी राज्यको स्वामित्वमा रहेको जमिन लीजमा प्रदान गर्ने, भूमिको वैज्ञानिक अभिलेख, भूमि उपयोगको नीति, भूमिहीन तथा गरिव किसानको हित र संरक्षणको विशेष नीति, कृषि तथा तृणभूमिको वैज्ञानिक उपयोग, भूमिबैंक मार्फत भूमिको उपयोग गर्ने व्यवस्था लागु गरिनु पर्ने जस्ता सबषयलाई पनि प्राथमिकतामा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्